पाल्पा, तानसेन । तानसेन नगरपालिका भित्र रहेका आदिवासी जनजातीहरुको रहन, सहन, भेषभुषा, कलासंस्कृति तथा पहिचानलाई प्रचार–प्रसार, जर्गेना र संरक्षण तथा सम्बर्धन गर्ने उद्देश्यले तानसेन नगरपालिकाको असनटोलमा आदिवासी जनजाति महोत्सव भएको छ ।

महोत्सवमा वडाभित्र रहेका विभिन्न १० वटा टोलविकास संस्थाले आ–आफ्नो भेषभुषामा सजिएर आ–आफ्नो परम्परा अनुसारका ताजा परिकार बनाएर वित्रि गरेका थिए । एउटै थलोमा दर्जनौ थरीका नयाँ –नयाँ परिकारका स्वाद चाख्न पाउँदा उपभोक्ताहरु पनि खुशी हुँदै परिकारका स्वादहरु लिएका थिए ।

महोत्सवमा कोदाको सेल रोटी, सिल्टुङ्खको बटुक, मेवाको अचार, चुकाउनी, यःमरी, मुस्लिमहरुको सेवई, विभिन्न किसिमका मासुका परिकारहरु, खिर, लस्सी, हासँको छोईला, छ्याङ (जाँड), कोदाको रक्सी, सेकुवा र भुटुवा लगायतका परिकारहरु बनाईएको थियो । महोत्सवमा आ–आफ्नो जातजातिको चालचलन अनुसारका परिकारहरुले उपभोक्ताको मन जितेको संस्थाकी संस्थापक अध्यक्ष शकुन्तला बज्राचार्यले बताउनु भयो ।

महोत्सवमा खानाको परिकारसँगै मगरी, नेवारी कलासंस्कृतिको प्रस्तुतिले दर्शकलाई भरपूूर्ण मनोरञ्जन गराएको थियो । कार्यक्रममा बौद्ध विद्धान छत्रराज शाक्यले आदिवासी, जनजातिको विश्वव्यापी र नेपालको अवस्था, कला संस्कृति, रहनसहन, भेषभुषा तथा राज्यले दिदै आएका सेवा सुविधाको बारेमा चर्चा गर्नु भएको भयो ।

तानसेन नगरका नगर प्रमुख अशोक कुमार शाहीले आदिवासी जनजातिहरु नेपालको प्रमुख शक्ति भएकोले स्थानीय स्तरबाटै उनीहरुका रहन सहन भेषभुषा कला संस्कृति तथा पहिचानहरुलाई संरक्षण तथा जर्गेना गर्नुपर्नेमा जोड दिनु भयो। कार्यक्रममा नगर उप–प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की, वडा अध्यक्ष महेश्वर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गर्नु भएको उक्त महोत्सव संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यको अध्यक्षता संस्थाकी संस्थापक अध्यक्ष शकुन्तला बज्राचार्यको स्वागत र सचिव सुनिता प्रधानको सञ्चालनमा भएको थियो । असनटोल टोल विकास संस्थाले केही बर्षदेखी तानसेनमा उक्त महोत्सव गर्दै आएको संस्थाकी अध्यक्ष अनुराधा बज्राचार्यले बताउनु भयो ।