तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नर्सिङ्ग पेशा सम्मानित पेशा भएर पनि राज्यले सेवा सुविधा र संरक्षण प्रदान गर्न नसक्दा धेरै नर्स र स्वास्थ्यकर्मीको सेवाप्रति आर्कषण घटेको दावी गर्नु भयो ।
नेपाल नर्सिङ्ग संघ पाल्पाले तानसेनमा आयोजना गरेको अन्तराष्ट्रिय नर्सिङ्ग दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री सारुले नर्सहरुलाई राज्यले नै सेवाअनुसारको सम्मान र पारीश्रमिक दिन नसकेको उल्लेख गर्नु भयो । उहाँले मानव संसाधान र आर्थिक समृद्धिसंग नर्स र अन्य पेशाकर्मीलाई जोड्न प्रदेश सरकारले पहल गर्ने समेत बताउनु भयो । मन्त्री सारुले अस्पतालहरुमा विज्ञापन गर्दा आवेदन दिने नर्सहरु एक दुई महिनामै छाडेर विदेश जाने प्रचलन बढेको बताउँदै पेशामा स्थायीत्व दिनका लागि सरकारको तर्फबाट पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले स्वास्थ्यकर्मी र नर्सहरुको व्यवहारले बिरामीको आधा रोग निको हुने हुँदा सेवामा प्रभावकारी ढंगबाट प्रस्तुत हुनका लागि नर्सहरुलाई निर्देशन समेत दिनु भयो ।
प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्यकर्मीहरुको सेवा सुविधासहित पेशागत सुरक्षाका लागि नीति तथा कार्यक्रममा अघि बढेको बताउँदै मन्त्री सारुले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा विकास गर्न काम गरिरहेको पनि बताउनु भयाृ। समग्र देशको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर बढी देखिएकोले त्यसमा काम गर्न मन्त्रालयले १२ वटै जिल्लाका स्वास्थ्य संस्थामार्फत कार्य अघि बढाएको र प्रदेश मातहतका १४ वटै अस्पताल विकास समितिलाई पूर्णता दिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायका कार्यहरु गर्ने गरी रणनीति अपनाउने पनि बताउनु भयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, तानसेन नर्सिङ्ग स्कुलकी डा. शकुन्तला थान्जु, लुम्बनी मेडिकल कलेजकी पार्वती नेपाललगायतले नर्सिङ्ग पेशा र नर्सहरुको भूमिका बारेमा धारणा राख्नु भएको थियो । यसैबीच संघले स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा सहभागीमध्येका ३३ जनाको नसर्ने रोग सम्बन्धी स्क्रीनिङ्ग गरिएको संघकी अध्यक्ष लक्ष्मी जिसीले जानकारी दिनु भयो ।