रामपुर, पाल्पा । साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका विषयमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पाटो फितलो रहेकोले यौनिक तथा अल्पसंख्यकहरु समाजमा खुलेर हिड्न चुनौति रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनका विच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो । नगर भित्र रहेका यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रा देवी सारुले तीनै तहका सरकारले यौनिक अल्पसंख्यक समुदायका लागि उचित व्यवस्था र अधिकार दिन नसकेको गुनासो गर्नुभयो । यस्तै यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायका मानिस अन्य भन्दा फरक नभई पृथक भएको बताउनुभयो । उहाँले समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको बताउनुभएको थियो ।

सहासी कदम नेपालका प्रबन्ध निर्देशक रेश्मा न्यौपानेले पृथक स्वभाव र शारीरिक बनावटका कारण परिवारबाट अलग भएर बस्नु पर्ने बाध्यता रहेको र जुनसुकै स्थानमा स्विकार नगर्नु आफुहरुको लागि विडम्बना भएको बताउनुभयो । उहाँले महिला पुरुष जस्तै यौनिक तथा अल्पसंख्यक पनि सन्तान सरह नै मान्नु पर्ने बताउँदै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगर भित्र पनि यौनिक तथा अल्पसंख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको जानकारी दिनुभयो ।

पाल्पाको रामपुरमा सम्पन्न उक्त कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायमा काम गर्ने अभियान्ता, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।