तानसेन, पाल्पा । पद्मपब्लिक माध्यमिक विद्यालय तानसेन पाल्पामा विद्यालयमा आधारित बिपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन हुने भएको छ ।

केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबिच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा नगरपालिकाको तर्फबाट मेयर सन्तोषलाल श्रेष्ठ, प्रोमोसन अफिसका तर्फबाट अध्यक्ष दीपक मरहठ्ठा र क्रियटिभ सेन्टरका तर्फबाट कार्यकारी निर्देशक केन्द्र हिराटाले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गरे पश्चात स्रोत केन्द्र सञ्चालनका लागि तीनै पक्षको प्रतिनिधिहरूको उपस्थितिमा ३० दिन भित्र कार्य योजना तयार गरिनेछ।

स्रोत केन्द्र सञ्चालनका लागि तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन निर्देशिका तयार गरिसकेको छ ।