बुटवल । पूर्वी पाल्पा समाज रुपन्देहीले आफना सदस्यहरुलाई लक्षित गरि तनाव व्यवस्थापन तथा क्षमता अभिवृद्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलमा आयोजना गरिएको कार्यक्रममा तनावको पहिचान, यसले पार्ने असर, तनाव कम गर्ने उपायहरु र सामना कसरी गर्ने भन्ने बारेमा मनोरोग विशेषज्ञ डा।राजेश श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । उहाँले तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि असर पार्ने र दैनिक जीवनमा समेत असहजता आउन सक्ने बताउनु भयो । पछिल्लो समय अव्यवस्थित जीवन शैली, अस्वस्थकर खानपान, योग, ध्यान र साँस्कृतिक जीवन शैलीको अभावका कारण अत्याधिक मानिसमा मानसिक समस्या बढ्दै गइरहेको, धैर्यताको कमी, पारिवारिक बेमेल जस्ता समस्या जटिल बन्दै गइरहेकाले समयमै यसलाई रोक्न सकिएन भने आगामी पुस्ता भयानक नैतिक र भावनात्मक समस्यामा पर्ने समेत उल्लेख गर्नु भयो ।
कार्यक्रममा समाजका अध्यक्ष सुनिल श्रेष्ठले पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध भएका व्यक्तिहरुलाई संस्थामा गोलबन्द गरि आपसी भावनात्मक सम्बन्ध बिस्तार र बिभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । स्थापनाको छोटो समयमै समाजले विभिन्न कार्यक्रम गर्न सफल भएको बताउँदै उनले छात्रवृत्ति कोष स्थापना, छोरी शिक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पुर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाईसरेका सामाजिक अभियन्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले पाल्पाबाट रुपन्देही झरेका व्यक्तिहरूलाई समाजमा गोलबन्द गरि सुखदुःख साट्ने चौतारीका रूपमा स्थापित गर्नुपर्ने बताउनु भयो। सोही अवसरमा समाजको पहिचान दिने गरि नयाँ वर्ष २०८२ सालको अवसरमा प्रकाशित भित्ते पात्रोको बिमोचन गरी शुभकामना आदानप्रदानसमेत गरिएको समाजका महासचिव भोजराज न्यौपानेले बताउनु भयो ।