भुवन सिंजाली
देवीनगर, पाल्पा । पुर्वखोला गाउँपालिका वडा नम्बर ४ देवीनगर तल्लो लेमधेम पाल्पाको सुनादेवी युवा क्लब तथा जुनतारा बालक्लबले ५ दिने विविध कायर्यक्रमहरु गरि आफ्नो २५ औं वार्षिकोत्सब सम्पन्न गरेको छ।
बैशाख ३ गते देखि ७ गतेसम्म सञ्चालित उक्त वार्षिकोत्सबमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, छात्रवृत्ति वितरण, पुरस्कार वितरण, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान, सहयोगी दातालाई सम्मान तथा राष्ट्रिय लोकदोहोरी कलाकारबाट विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक चिज गुरुङ, बसन्ति मश्राङ्गि, रुद्र चिदी र क्लबका सदस्यहरुबाट साँस्कृतिक प्रस्तुति गरिएको थियो । उक्त साँस्कृतिक कार्यक्रम हेर्न पूर्वखोला गाउँपालिका, माथागढी
गाउँपालिका र रम्भा गाउँपालिका लगायत छिमेकी ठाउँहरुबाट ५ हजार बढी दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले भलिबल प्रतियोगिताबाट खेलाडीहरुमा खेल प्रदर्शन गर्ने अवसर प्राप्त हुनुका साथै एक आपसमा मित्रताको भावना बलियो बनाउन र शारीरिक मानसिक रुपमा तन्दुरुस्त राख्न ठुलो सहयोग पुग्ने बताउनु भयो ।
यस्तै कला संस्कृति हाम्रो पहिचान भएको हुँदा संरक्षण गर्न र कलाकारलाई टिकाइ राख्न यस्तो कार्यक्रम गरिरहनु पर्नेमा जोड दिनुहुँदै गाउँपालिकाले युवाहरुलाइ स्थानीय गाउँमै बस्ने वातावरण बनाउन तथा रोजगार र व्यवसायीक बनाउन विभिन्न सीप मुलक तालिम, कृषि तथा पशु उत्पादनमा आर्थिक सहयोग गरि रहेको उल्लेख गर्नु भयो । उहाँले स्थानीय सहकारीहरुसंग मिलेर बजार व्यवस्थापन गरिरहेको बताउदै बालबालिकालाई क्षमता विकास तालिम, छात्रवृत्ति वितरण, बाल क्लव स्थापना र व्यवस्थापन लगायतको क्षेत्र काम गरिरहेको जानकारी गराउनु भयो । आउने वर्ष पूर्वखोला गाउँपालिकालाई स्थानीय बालमैत्री शासन बनाउने गरि अगाडि बढिरहेको समेत बताउनुभयो ।
पुर्वखोला गाउँपालिकाका प्रवक्ता तथा देवीनगर वडाका वडाध्यक्ष मेहर सिं थापाले लेमधेमलाई मकै बीउ उत्पादन क्षेत्र बनाउन तथा एक घर एक धारा खानेपानीको काम अन्तिम चरणमा रहेको उल्लेख गर्नु भयो । यस्तै लिचि तथा अनार फलफूल विस्तारको लागि समेत कार्यक्रम अगाडि बढाएको जानकारी गराउनु भयो । प्रबक्ता थापाले मकैबीउ भण्डारण गर्न भवन निर्माण, खल्लुक खोलाको पानी सोलार व्यानलबाट लिफ गरि ठुलो मात्रामा सिचाइ गर्न तथा देवीनगर माडी जोड्ने गरि तिनाउ करिडोरको रुपमा मोटरबाटो निर्माण गर्न संघीय सरकारसंग बजेट माग गरिएको समेत जानकारी गराउनु भयो ।

वार्षिकोत्सवको अवसरमा आयोजित पुरुष तर्फको भलिबल प्रतियोगितामा रम्भा गाउपालिकाको बोरोङ्से पहिलो, आयोजक देवीगर लेमधेम दोस्रो र रम्भाकै बाकुम तेस्रो भएका थिए । विजय खेलाडीलाई क्रमश नगद ४० हजार, २५ हजार र १५ हजार तथा मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै महिला तर्फको भलिबल प्रतियोगितामा रामपुर नगरपालिकाको अर्भसिङ पहिलो, पुर्वखोलाको देवीनगर दोस्रो र आयोजक समूह तेस्रो भए । विजय खेलाडीलाई नगद ७ हजार, ५ हजार र ३ हजार तथा मेडल प्रमाणपत्र पुरुस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा पुरुष तर्फ २२ टिम र महिला तर्फ ११ टिमको सहभागीता रहेको थियो ।

सोही अवसरमा जुनतारा बाल क्लबका सदस्यले २०८० सालको कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्ण भएकोमा जानकि बारघरे र धनि कवरलाई सम्मान पत्र र खादाबाट सम्मान समेत गरेको थियो । कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोग गर्नु हुने ३५ जना सहयोगी दाता तथा कलाकारहरु र अन्य सहयोगीहरुलाई समेत मायाको चिनो, सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।
क्लवको वार्षिकोत्सवै अवसरमा जेहेन्दार तथा गरिब परिवारका १५ जना बालबालिकालाई शैक्षिक सामग्री कापि कलम वितरण गरिएको थियो । कार्यक्रम जुनतारा बाल क्लबका अध्यक्ष टिकुमाया बारघरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।