पाल्पा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेतृत्व विकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा सहजिकरण गर्नुहुँदै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले सबै स्वास्थ्य सेवा र पद्दतिको प्रयोग गरी नागरिकको स्वास्थ्यमा राज्यले आफ्नो अर्थतन्त्रको आकार र आर्थिक क्षमताअनुसार स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउनु भयो ।
लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको भूमिका महत्वपुर्ण हुने बताउँदै मन्त्री सारुले सेवा गुणस्तर अभिवृद्धि गर्न, चिकित्सकीय मानव संशाधन उत्पादन गर्न र अध्ययन अनुसन्धान गरी समग्र चिकित्सकीय क्रियाकलापलाई निर्देशित गर्न मद्दत गर्ने विश्वासका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सञ्चालित रहेको उल्लेख गर्नु भयो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले लुम्बिनीका सचिव तथा जनसंगठन ईन्चार्ज लक्ष्मण आचार्य र विशिष्ट अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज खगराज पोख्रेलले महासंघको विधी विधानसंगै प्रदेश सरकारबाट जारी भएका प्रदेश तथा स्थानीय ऐन, नियमावली विषयमा सहजीकरण गर्नुभयो । संगठन र पार्टी बीच सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै पार्टीको नीतिलाई संगठनहरुले कार्यान्वयन गराउन सघाउनुपर्ने बताउनुभयो । अर्का प्रशिक्षक नेकपा एमाले लुम्बिनीका सदस्य तथा पार्टी स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङले संगठन र सम्बन्ध विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरी, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेश कुमार गुप्ता, खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरण प्रसाद गौतम, राष्ट्रिय स्वास्थकर्मी महासंघ नेपालका सल्लाहकार परिषदका अध्यक्ष राम बहादुर चन्द, महासंघ लुम्बिनीका संस्थापक अध्यक्ष चिन्तामणी ज्ञवाली, केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज सुन्दर तरामु लगाएतले संरचनागत र व्यवस्थापकीय चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमासमेत नीतिगत स्पष्टता हुनुपर्ने विषयमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष चिन्लामणी ज्ञवालीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका अध्यक्ष महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दोर्ण बहादुर ओलीले स्वास्थ्य क्षेत्रमा मापनयोग्य प्रगति र मूल्यांकन प्रणालीको विकासगरी नयाँ शिराबाट कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले ल्याउने नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक सबैखाले सहयोग गर्न महासंघ लुम्बिनी प्रदेश तयार रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमकै अवसरमा महासंघले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रोको विमोचन समेत गरिएको थियो ।