काठमाडौं । शिक्षक आन्दोलनका कारण देशभैभरका सामुदायिक विद्यालयमा भर्ना अभियान प्रभावित बनेको छ । सरकारले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गरे पनि शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदा भर्ना अभियान नै प्रभावित बनेको हो ।

पञ्चायती व्यवस्थाको शिक्षा ऐनले मुलुकको शिक्षा धान्न नसक्ने भन्दै देशको बदलिँदो परिस्थिति अनुसार समयानुकूल शिक्षा ऐन जारी गर्नुपर्ने एक सूत्रीय माग राखेर शिक्षकहरू विगत १७ दिनदेखि आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियनको तयारीमा जुट्नुपर्ने शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा उत्रिदा वार्षिक परीक्षाको नतिजासँगै भर्ना अभियान अगाडि बढ्न सकेको छैन् ।

अर्कोतर्फ एसइई नतिजा प्रकाशनको तालिका समेत प्रभावित हुने सम्भावना देखिएको छ । आगामी असार पहिलो साता नतिजा प्रकाशन गर्ने भनिए पनि अनिश्चितकालिन शैक्षिक आन्दोलनका कारण एसइई नतिजा पनि प्रभावित हुने देखिएको हो । शिक्षकहरू आन्दोलनमा रहेकाले अहिलेसम्म उत्तरपुस्तिक परीक्षण सुरु हुन सकेको छैन् । आन्दोलनको कारण वैशाख ११ गतेबाट शुरू हुने कक्षा १२ को परीक्षा बिथोलिन सक्ने आशंका समेत बढेको छ ।

धेरैजसो सामुदायिक विद्यालयहरुमा अहिलेसम्म नतिजा प्रकाशन हुन नसकेको र भर्ना हुनबाट बालबालिकाहरु बञ्चित हुने भन्दै अभिभावकहरु समेत चिन्तित बनेका छन् । निजी विद्यालयहरुले भने धमाधम रिजल्ट प्रकाशन गरेर विद्यार्थीहरु भर्ना गरिरहेका छन् । उनीहरुले समयमै नतिजा प्रकाशन गरेर भर्ना अभियानलाई तिव्रता दिएका छन् । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षकहरुले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् । तत्काल शिक्षा ऐन जारी गर्न दबाब दिंदै आएका उनीहरुले सडक आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।