काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक—पटक मिति सार्दा प्रतियोगिताको विषयमा फेरि अन्यौलता छाएको छ । हालसम्म तीनपटक मिति तय गरेता पनि प्रतियोगिता हुने विषयमा अझै अन्यौल देखिन्छ ।
राष्ट्रिय खेलकुद परिषद्ले पहिलोपटक गएको मंसिर २ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसयता पहिलो पटक म्याद थपेर गएको चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने मिति सारियो ।
पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को पछिल्लो बोर्ड बैठकले प्रतियोगिताको अर्को मिति तय गरेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेपनि पुनःउक्त मितिमा पनि प्रतियोगिता नहुने भएको छ ।
सरकारले ३ जेठदेखि १० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिताको तेस्रो मिति घोषणा गरेपनि खेलकुद क्षेत्रका अगुवाहरु प्रतियोगिता हुनेमा विश्वस्त थिएनन् ।
प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद नहुने घोषणा गरेपछि प्रतियोगिता अनिश्चिततातर्फ धकेलिएको छ । तयारी नपुगेको भन्दै मन्त्री चौधरीले प्रतियोगिता रोक्नु भएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको प्रतियोगिताको आयोजक राखेप र व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुन् । तर सरकारले तोकेको पछिल्लो मितिमा वीरेन्द्रनगरमा अत्यधिक गर्मी हुने तथा मौसम प्रतिकूलताका कारण सो समय उपयुक्त नभएको बताएको छ ।
पहिलो पटक कर्णालीमा हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गरी इतिहास रच्नुका साथै जस लिने मौका कर्णालीले गुमाएको छ । तोकिएको पहिलो खेलकुद मितिमै खेल सम्पन्न गर्न नसक्दा त्यसपछि पटक पटक खेल सर्दै आएको छ ।