पाल्पा । यही चैत २८ गतेदेखि शुरु गरिएको तेस्रो गोरखा–जितगढी पदयात्रामा सहभागी नेपाली सेनाको टोली गोरखा, तनहुँ, स्याङ्जा हुँदै पाल्पा आइपुगेको छ ।

उताबाट आएको फौजले पाल्पामा तैनाथ फौजलाई पाल्पा र स्याङ्जाको सीमाना केलादीघाटमा झण्डा हस्तान्तरण गरेको छ । स्वागतमा स्याङ्जा चापकोटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तारादेवी पोखरेलले पाल्पाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई झण्डा हस्तान्तरण गर्नु भएको थियो । टोलीलाई पाल्पास्थित नेपाली सेनाको द फेमस महीन्द्र दल गणले केलादीमा स्वागत गरेको थियो ।

सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनु भयो । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा गरिरहेको हो ।

यात्राले ऐतिहासिक गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी संरक्षण, सम्वर्द्धन र विकास गर्न सघाउ पुग्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विश्वास व्यक्त गर्नु भयो । उक्त टोलीको प्रतिनिधि मण्डल र पाल्पास्थित ‘दि फेमस महिन्द्र दल गण’ ले मंगलबारदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्नेछन् ।

उक्त टोलीले पहिलो दिन केलादीघाट हुँदै देवीस्थान बगैचा, श्रीनगर होटल दर्छा सिताकुण्ड, तुने भञ्ज्याङ्ग, बेलडाँडा, सिलुवा पिलुवा जब्गादी, विरकोट ३५ किलोमिटर यात्रा गरेर वैशाख ३ गते विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी हुँदै माथागढीसम्मको पदयात्रा गर्नेछ । यस्तै बैशाख ४ गते माथागढी, गोठादी झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभाससम्मको र बैशाख ५ गते प्रभास, लामडाँडा, बर्तुङ्ग, तानसेन, काजीपौवा हुँदै पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरि वास बस्ने छ ।

सोही दिन तानसेनमा सर्वसाधारणदेखी जिल्लाका प्रमुख स्थानहरुको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने वैशाख ६ गते प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान यात्रा गर्नेछ ।

बैशाख ७ गते नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सव गरेको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगी बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ । तत्काली समयमा राज्य एकिकरणको क्रममा प्रयोग भएका सम्पादहरु गढी , किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुगेको श्री २२ नंम्बर बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले बताउनु भयो ।

‘पदयात्रामा नेपाली सेनाका ५३ जना अधिकृत, सकलदर्जा र सुरक्षाकर्मीको सहभागिता रहेको छ । पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रुपमा सहभागी भई टुँगीने छ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै बैंशाख ७ गते ऐतिहासिक स्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ ।

१८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै ३ महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ ।