तानसेन,पाल्पा। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले संविधान अनुसार कानून कार्यान्वय नहँुदा र शासकको कार्यशैली सुधार हुन नसक्दा वर्तमान व्यवस्था तथा गणतन्त्रमाथि नै प्रश्न उठेको बताउनु भएको छ ।
पाल्पाको तानसेनमा आयोजित प्रदेश सभासंग स्थानीय सभाको कानून निर्माण सम्बन्धी छलफलपछि पत्रकार भेटघाटमा बोल्दै सभामुख घर्तीले जनप्रतिनिधि र सरकारको नेतृत्व गर्नेले पनि कानून निर्माण र संघीयताको मर्मअनुसार काम गर्न नसकेको हुँदा जनताको असन्तुष्टि बढेको उल्लेख गर्नु भयो। शासन प्रणालीमा व्यवस्थापन सहि नहुँदा प्रश्न उठ्ने गरेको भन्दै उहाँले संघीयता माथि नै गम्भीर प्रश्न उठेको हुँदा त्यसको समीक्षा गर्नुपर्ने बताउनु भयो।
संघीयताको सिद्धान्त र मर्मलाई नबुझेर काम गर्दा संघीयतामाथि नै प्रश्न उठ्ने गरेको समेत बताउनु भयो । सभामुख घर्तीले संघीयतालाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रदेश सभा स्थानीय तहसम्म पुगेर सहजीकरण गरिरहेको पनि बताउनु भयो । “आजसम्म स्थानीय तहले के के कानुन बनाए भन्ने प्रदेश सभालाई थाहा छैन । स्थानीय तहले सरकार सञ्चालन ऐनलाई टेकेर सभा सञ्चालन गरिरहेका छन् । कानुन निर्माण गर्ने अर्कै ऐन छ, त्यसलाई स्थानीय तहले पत्तै पाएका छैनन् ।” उहाँले भन्नु भयो ।
स्थानीय तहले कपी पेष्ट गरेर कानुन बनाउने प्रचलन व्यापक रहेको उल्लेख गर्दै स्थानीय तहले कानुन पारित गरेपछि एक प्रति प्रदेश सरकारलाई पठाउनु पर्छ तर कसैले नपठाएको गुनासो गर्नु भयो । सभामुख घर्तीले स्थानीय तहमा कानून बनाउन पर्याप्त छलफल नभएको तथा ऐन भन्दा दश गुना बढी कार्यविधि बनाएर काम गर्ने अभ्यास रहेको पनि बताउनु भयो ।
प्रदेश सरकारले प्रदेश सुशासन ऐन ल्याए पनि स्थानीय सरकारले ल्याउन नसकेको उल्लेख गर्दै सभामुख घर्तीले त्यसका लागि स्थानीय तहसंग कानून निर्माणका लागि छलफल गरिएको बताउनु भयो ।