भैरवस्थान, पाल्पा । घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीको वार्षिक कार्ययोजना तथा संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी पाल्पाको भैरवस्थानमा सम्पन्न भएको छ ।

महासंघका कार्यसमितिहरुको व्यक्तित्व विकास, कार्यकुशलता अभिवृद्धिका सीपसंगै संस्थागत क्षमता अभिवृद्धि, रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयन गर्ने गरि अभ्यास गोष्ठी सम्पन्न भएको महासंघका वरिष्ठ उपाध्यक्ष एवम् कार्यक्रम संयोजक देवानन्द पाण्डेले बताउनुभयो । गोष्ठीका अवसरमा योगाभ्यास सहित मित्रमिलन, सहकार्य, संस्थागत सबलता लगायतका अभ्यास सञ्चालन गरिएको थियो ।

कार्यक्रमको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्घाटन गर्दै देशको सन्तुलित विकास, रोजगारी अभिवृद्धि, वित्त सञ्चालन, स्थानीय कच्चा पदार्थको सदुपयोग, आयात प्रतिस्थापनमा महासंघबाट खेलेको भुमिकाबारे चर्चा गगर्नु भयो ।

गोष्ठीका क्रममा महासंका पूर्व जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले घरेलु तथा साना उद्योग महासंघको परिचय र नेपालमा उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपप्राध्यापक एवम् प्रशिक्षक मुक्तिनाथ गैह्रेले व्यक्तित्व विकास, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक योजना निर्माण र त्यसको कार्यान्वयनबारे सहजीकरण गर्नु भएको थियो भने दुर्गाबहादुर पोखरेलले योगाभ्यास गराउनुभएको महासचिव थानेश्वर चापागाईले बताउनुभयो ।

संघको लुम्बिनी प्रदेशका पदाधिकारी सहित रूपन्देही जिल्ला कार्यसमिति र पालिकास्तरमा क्रियाशील समितिका पदाधिकारीको प्रतिनिधिमूलक सहभागिता रहेको कार्यक्रममा महासंघ जिल्ला कार्यसमितिले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डर समेत विमोचन गरिएको थियो ।