तानसेन,पाल्पा । तानसेन नगरपालिका न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्र वडा नं ७ को समन्वयमा समुदाय मेलमिलाप केन्द्रको वडा भेला सम्पन्न भएको छ ।
भेलामा बोल्नु हुँदै तानसेन नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक प्रतीक्षा गाहा सिङ्जालीले समाजलाई शान्त सुसंस्कृत र समृद्ध बनाउन न्यायिक समितिले निरन्तर पहल गर्ने बताउनु भयो । उहाँले आर्थिक र भौतिक झन्झटबाट टाढा रहेर जनतालाई घरघरमा गएर न्यायको प्रत्याभूत गराउनु नै न्यायिक समितिको प्रमुख उद्देश्य भएको उल्लेख गर्नु भयो ।
तानसेन नगरपालिकाभित्रबाट अत्याधिक मुद्दाहरू वडा नम्बर ७ मा आउने गरेको र आएकामध्ये धेरै मुद्दाहरू मेलमिलाप भइसकेको बताउदै गाहाले वडा नम्बर ७ का मेलमिलापकर्ताहरू निकै सक्रिय र जुजारु मेलमिलापकर्तामध्येमा पर्ने समेत स्मरण गर्नु भयो ।
यस्तै कार्यपालिका तथा न्यायिक समिति सदस्य सबीता भट्टराईले हरेक वडाका सामुदायिक मेलमिलाप केन्द्रले छलफल गराउने मुद्दा वा निवेदनहरूबारे सबैजना स्पष्ट हुनुपर्ने बताउनु भयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष प्रदीप खनालले न्यायिक समिति एउटा नियममा टेकेर निष्पक्ष निर्णय गर्ने समितिका रूपमा रहेको उल्लेख गर्नु भयो ।
यो कार्यक्रम एउटा जानकारीमूलक र सबैलाई सुसुचित गर्ने कार्यक्रम रहेको सामुदायिक मेलमिलाप केन्द्र वडा नं ७ का संयोजक टोपलाल पन्थले बताउनु भयो ।