एवत सारु
रानीबास पाल्पा । रानिबास सामुदायिक होमस्टे संचालनमा आएपछि दिनहुँ आन्तरिक पर्यटकहरूको घुँईचो लाग्ने गरेकोछ। प्राकृतिक सौन्दर्य, स्थानीय नाच र लोक संस्कृति, स्थानीय उत्पादनका परिकार सङ्गै मगर संस्कृतिले होमस्टे संचालनको छोटो समयमा नै पर्यटकलाई आकर्षित गरेको छ।
रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबासमा सुरुमा १६ घरमा होमस्टे संचालन गरिए पनि आगन्तुकहरूको घुँइचोले छिट्टै होमस्टे संख्या बढाउनेपर्ने अवस्था आएको रानिबास होमस्टेका सचिब बिरबहादुर गुरुङ्गले बताउनु भयो। ठूलो गाउँ भएकोले घरबासमा आबद्ध घरहरू सजिलै बढाउन सकिने गुरुङ्गले बताउनु भयो।

गर्मी याम सुरु भएको र मानिसहरु शीतल ठाउँको खोजिमा एकदुइ रात धीत मारेर आराम गर्न रानीबास आउने गरेका छन । बुटवल, तानसेन, वालिङ्ग, काठमाण्डौं र रामपुर लगायतका क्षेत्रबाट पाहुना आएको रानिबास होमस्टेका अध्यक्ष देउकुमारी सारूले बताउनु भयो। दिनहुँ घासपात र खेती किसानी गर्ने आफुहरूले होमस्टे संचालनमा आएपछि फुर्सदै नपाएको होमस्टे संचालक बबीसरा सारुले बताउनु भयो। बाख्रा माहारा जाने, घाँस काट्ने आफ्नो दैनिकी पाहुनाको व्यवस्थापनमा दिन बितेको सारुले बताउनु भयो।
खासगरी शुक्रवार र विदाको दिन पारेर पाहुनाहरू रानिबासमा आउने गर्दछन। विभिन्न कार्यालयका कर्मचारीहरू समूह बनाएर आउने गरेका छन। कतिपय सम्पन्न परिवारले आफ्नो छोराछोरीलाई ग्रामीण जीवनको वास्तविक रूप देखाउन पनि आउने गरेका छन।

रम्भा गाउँपालिका २ नम्बर वडाको रानिबास समुद्र सतहदेखी करिब १ हजार ३०० मिटर उचाईमा रहेको उत्तर दिशा फर्केको रमाइलो गाउँ हो। सिद्धार्थ राजमार्गको राम्दी देखी करिब ११ किलोमिटर मोटरबाटो हिंडेपछी रानिबास गाउँ पुग्न सकिन्छ। यहाँका मानिसले कोदो, मकै, फापर, सिलटुङ्ग, गहुँ जस्ता परम्परागत बाली लगाउने गर्दछन। तानसेन बजारदेखी झण्डै ४० किलोमीटर, पोखरा देखि ९५ किलोमीटर र रामपुर देखि ३५ किलोमिटर दुरीमा रहेको रानिबास गाउँ रमणीय, पर्यटकीय र सुन्दर छ। यहाँबाट घुमीघुमी कालीगण्डकीको बगेको, राम्दी पुल, सिद्धार्थ राजमार्ग, अन्नपूर्ण हिम श्रींखला, रिमिघा लेकहरु देख्न सकिन्छ।
१५ जनाभन्दा धेरै जनाको समूह आएमा पन्चेबाजा र झाम्रेबाट स्वागत गरिन्छ। बेलुकी पाहुनाको चाहना अनुसार मारुनी नाच सङ्गै स्थानीय झाम्रे गितमा मन खोलेर नाच्न पाइन्छ। नाच सङ्गै गाउँको माझमा रहेको चुर्की थान र जनजाति संग्राहलय अवलोकन गर्न सकिन्छ। एक जना पर्यटकबाट १ हजार रुपियाको प्याकेज तयार गरिएको छ। यस प्याकेजमा स्वागत सहितको ३ पटकको नास्ता, साझ मासु भात र आनन्दको सुताई रहेको छ।

गाउँमा होमस्टे संचालन भएपछि गाउँको मुहार फेरिएको छ। बाटोघाटो घर आगन जतिखेर पनि चिटिक्क देखिन थालेको छ। गाउँलेहरू खुसी देखिन थालेका छन। गाउंलेहरु फुल खेती गर्न थालेका छन।छोडी सकेको कोदो, मकै र गहुँखेती फेरि सुरु गर्ने तर्खरमा छन।
समूहमा आउने पाहुनाहरूले सामुहिक भोजन गर्ने रुचि देखाएका छन। कतिपयले राती क्याम्प फायरको माग समेत गरेको पाइन्छ। केही पाहुनाले मादल खैजेडी मागेर अनुशाशित रुपमा आफ्नै समूहमा नाचगान गरेको पाइन्छ। आफू रानिबास होमस्टेमा आएर पुर्ण सन्तुष्ट रहेको पाल्पा रामपुर निवासी ५७ बर्षिय कमलराज भट्टराईले बताउनु भयो। यहाँको जनजीवन, कला, संस्कृति र स्वागतले आफू अत्यन्तै खुसी भएको आधारभूत मावी रामपुरका प्रधानाध्यापक रुपनाथ गौतमले बताउनु भयो।

गएको फागुन २ गते धुमधाम सङ्ग कार्यक्रम गरि औपचारिक रूपमा होमस्टे उद्घाटन गरिएको थियो। रानिबास सैद्धार्थ राजमार्ग बाट नजिक भएको र स्थानीयता झल्कने प्रशस्त विषयवस्तु रहेकोले यो गाउँ अव्वल होमस्टे हुने होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्यालले बताउनु भयो। मिलनसार गाउँले, प्राकृतिक सौन्दर्यता, स्थानीय उत्पादनले होमस्टे मज्जाले चल्ने केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोलाले बताउनु भयो।

होमस्टे संचालनमा रम्भा गाउँपालिकाले स्थानीयलाई प्रेरित गर्दै व्यवस्थापकीय काम र आर्थिक सहयोग गरेको छ। पर्यटन विकासको माध्यमबाट यहाका जनताको आर्थिक विकास गर्नुनै गाउँपालिकाको लक्ष्य रहेको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनु भयो। यहाँको प्राकृतिक सौन्दर्य, स्थानीय कला संस्कृती र मिहिनेती गाउँलेहरूको अथक प्रयासले रानिबास होमस्ये संचालन गर्न सहज भएको भण्डारीले बताउनु भयो । ९२ घर मगर समुदाय बस्ने रानिबासबाट कालीगण्डकी र्याफ्टिङ्ग, राम्दीघाट सिद्ध मन्दीर, रम्भा देवी मन्दिर, रिमिघा लेक, लूप्च पोखरा, मूलाबारी लगायताका पर्यटकीय स्थल सजिलै एक घण्टामै पुग्न सकिन्छ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते, बुधबार