पिआर थापा
स्याङ्जा । कालीगण्डकी गाउँपालिका स्याङ्जाले वडा नं ७ स्थित मिर्मीमा कालीगण्डकी अस्पताल संचालनमा ल्याएको छ । वि.सं. २०७७ फागुन १० गते कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले समुद्घाटन गर्नुभएको अस्पतालमा चौबीसै घण्टा डाक्टर सहितको इमरजेन्सी सेवा उपलब्ध हुने गरेको छ ।
अस्पतालले बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म बहिरंग सेवा दिने गरेको छ । साथै निशुल्क स्वास्थ्य बीमा सेवा, फार्मेसी तथा भिडियो एक्सरे सेवा ,आधारभूत आँखा उपचार सेवा, ल्याब तथा अत्याधुनिक डिजिटल एक्सरे सेवा, बिरामी भर्ना तथा इ.सी.जी. सेवा, खोप सेवा, गर्भ परिक्षण तथा निशुल्क प्रसुती सेवा र परिवार नियोजन, सुरक्षित गर्भपतन तथा एम्बुलेन्स सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ ।
गाउँपालिकाले २०७७ फागुन १० गते अस्पतालको समुद्घाटन गरे पछि कोरोनाको दोस्रो लहरले आक्रान्त पालिकावासी नागरिकलाई निशुल्क उपचार सेवा दिएको अस्पताललाई पालिकाले नविन कार्यक्रम र कर्मचारीको व्यावस्थापन सहित अगाडि बढाएको थियोे ।
२०७८ जेठ २३ देखि स्वास्थ्य बीमा सेवाको प्रारम्भ गरेसँगै सम्पूर्ण पालिकावासीको निशुल्क स्वास्थ्य बीमा सहित पालिका आफ्ना नागरिकको स्वास्थ्य प्रति अझ बढी जिम्मेवार बनेको थियोे ।
प्रारम्भमा दैनिक १० देखि २० जना बिरामीको सेवा गरेको अस्पतालले अहिले दैनिक १३० देखि १५० जना सम्म बिरामीको सेवा गर्ने गरेको छ । यहि सेवालाई मध्यनजर गर्दै संघ सरकारको अनुदानमा १५ शैयाको नयाँ भवन निर्माणकार्य अघि बढेको छ ।
२०७९ कार्तिक १७ गते कालीगण्डकी गाउँपालिका र निर्माण व्यवसायी फर्म R & CS–Beacon J/V, Lalitpur बीच कूल रकम २१ करोड ५७ लाख ६८ हजार ५७२ रुपैयाँ ८७ पैसामा निर्माण सम्झौता कार्य सम्पन्न भएको थियोे । २०७९ फागुन ९ गते सम्माननीय सभामुख देवराज घिमिरेज्यूबाट नयाँ भवन निर्माणको शिलान्यास भएको थियोे ।
अस्पतालको वाषिर्कोत्सवमा नविन सेवाको शुरूवात वार्षिकोत्सबमा निशुल्क दन्त परिक्षण तथा कृत्रिम दाँत राखिदिने शिविरको घोषणा
निशुल्क दन्त शिविरको घोषणा पछि पालिकाले सातवटै वडामा दन्त परिक्षण शिविरको आयोजना गरेको थियोे। Kantipur Dental College Kathmandu को प्राविधिक सहयोगमा प्रारम्भिक दन्त परिक्षण शिविरमा ३८२ जनाले सेवा लिनुभएको थियोे। त्यस पछि कृत्रिम दाँतको सेट दुई चरणको शिविर आयोजना गरि कुल ५३ जना वृद्ध बुबाआमालाई प्रदान गरिएको थियोे ।
साथै चौथो वार्षिकोत्सबको अवसर पारेर BM Foundation Kathmandu को प्राबिधिक सहयोगमा पालिकाव्यापी निशुल्क आँखा शिविरको आयोजना गरिएको थियोे । जसबाट दुई हजार बैसठ्ठी जना सेवाग्राही लाभान्वित भएका थिए । पाँचौ वाषिर्कोत्सवको पुर्वसन्ध्यामा १४ मंसिर २०८१ मा नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री, माननीय पृथ्वी सुब्बा गुरुङले अस्पतालमा आधारभूत आँखा उपचार सेवा शुभारम्भको समुद्घाटन गर्नु भएको थियोे ।
पाँचौ वाषिर्कोत्सवको अवसरमा हिमालय आँखा अस्पताल धारीपाटन पोखरासँगको सहकार्यमा आँखा उपचारको सेवा प्रारम्भ सँगै निशुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया समेत गरिएको थियोे । जसबाट ३९ जना मोतियाविन्दुको बिरामीले अपरेशन सेवा लिएका थिए । वाषिर्कोत्सवको अवसरमा जिल्ला रेडक्रस शाखा स्याङ्जाको प्राविधिक सहयोगमा अस्पतालमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियोे । २२ जना रक्तदाताले उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका थिए ।
प्रकाशति मिति : २०८१ चैत्र १९ गते, मंगलबार