धातानन्द शर्माा गैरे
बगनासकाली, पाल्पा । बगनासकाली गाउँपालिका सरकारको समन्वय, सामाजिक स्रोत विकास केन्द्र नेपालको सहयोग तथा सहकार्यमा स्थानीय अधिकार कार्यक्रम २०२५ समझदारी पत्रमा गाउँपालिका सरकारका पदाधिकारीहरु तथा एस्आरडिसी नेपालका पदाधिकारीहरुबिच हस्ताक्षर तथा गाउँ शिक्षा योजना निर्माण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्ष बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले एस्आर्डिसी नेपालले गाउँपालिका भित्र शिक्षा, सामाजिक क्षेत्र र पछाडि परेको वर्गको उत्थानमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । एस्आरडिसीको कार्यक्रम समझदारी पत्रमा उल्लिखित कार्यक्रम कार्यान्वयनका लागि पालिकाका तर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एस्आरडिसी नेपालका चोपलाल गिरीले कार्यक्रमका उद्देश्य माथि प्रकाश पार्दै गाउँ शिक्षा योजना निर्माणका चरण, यसका प्रक्रिया र निर्मित शिक्षा योजनालाई अपनत्व लिएर कार्यान्वयन गर्न सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।

बगनासकाली गाउँपालिकाका शिक्षा प्रमुख गुनाराम खनालले शिक्षा योजना निर्माणका लागि समितिको नेत्तृत्त्वमा सक्रिय व्यक्ति आउनुपर्ने र योजना सफल पार्न पालिका सरकारले चासो दिनुपर्छ भन्नुभयो ।

एस्आरडिसी नेपालका पीताम्बर बस्यालले सन् २०२५ लागि बगनासकाली गाउँपालिकाको सीमान्तकृत वर्गको उत्थान, सामाजिक क्षेत्रका विभिन्न पक्ष र शिक्षालगायतका क्षेत्रमा लागु गरिने कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभयो । उहाँले सो कार्यक्रम कार्यान्वयनका लागि २९ लाखको बजेट रहेको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा पालिकाका विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरु, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नागरिक सरोकार मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो । कार्यक्रम एस्आरडिसी नेपालका पीताम्बर बस्यालको सहजीकरणमा भएको थियो ।  प्रकाशित मिति : २०८१ चैत्र १८ गते, सोमबार