प्रेम बगाले
बगनासकाली, पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा परालको जुत्ता र चप्पल बनाउने तालिमको आइतबार उद्घाटन भएको छ ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं. ६ टोक्सेमा आइतबार तालिमको उद्घाटन कार्यक्रम भएको हो । चैत्र १७ गतेदेखि २१ गतेसम्म तालिम सञ्चालन हुने र पहिलोदिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको मेडपा कार्यक्रम संयोजक प्रेमबहादुर बगालेले जानकारी दिनुभयो ।
तालिम उद्घाटन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठकले सीप सिकेर आत्मनिर्भर हुन सहभागीलाई आग्रह गर्नुभयो । उहाँले बगनासकाली गाउँपालिकाले गाउँमै उद्यमी बनाउने लक्ष्यका साथ विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै सहभागीको आवश्यकता र मागमा आधारित भई यस्ता सीपमूलक तालिमहरूलाई निरन्तरता दिइने बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य बोमलाल सुनार, वडा सदस्य राजेन्द्र प्रसाद बस्याल, दिनानाथ बस्याल लगायतले तालिममा सीप सिकेर उत्पादित वस्तुहरूलाई बजारीकरणका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागी वक्ताहरूको भनाई थियो । तालिममा बगनासकाली गाउँपालिका वडा नं। ६, ५ र ९ का गरी २० जनाको सहभागिता रहेको छ ।
कार्यक्रमको सञ्चालन गाउँपालिकाका एम।आई।एस।अपरेटर भोजराज भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य वडा सदस्य राजेन्द्रप्रसाद बस्यालले दिनुभएको थियो । तालिममा प्रशिक्षक कल्पना वि।क।ले सहभागीहरूलाई परालको जुत्ता तथा चप्पल बनाउन आवश्यक सामग्री, डिजाइन र निर्माण प्रक्रियाका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने मेडपा फोकल पर्सन प्रेम बहादुर बगालेले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीहरूले भविष्यमा व्यवसायिक रूपमा उपयोग गर्ने लक्ष्यका साथ उत्साहित भएर तालिममा सहभागिता जनाएको बताएका छन् । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपाले यसअघि पनि विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमबार