तानसेन, पाल्पा । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी आयोजना गर्न लागिएको दोस्रो तानसेन महोत्सव यही चैत २२ गतेदेखि हुने भएको छ । महोत्सवको बारेमा तानसेनमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवर्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य राखिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनु भयो । उहाँले धरासय भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको समेत बताउनु भयो ।
महोत्सवलाई सफल पार्न प्रचार प्रसारलाई व्यापक बनाइदिन उप प्रमुख प्रतिक्षा सिङ्जालीले जिल्लाका पत्रकारहरुलाई आग्रह गर्नु भयो । महोत्सवको तयारी तिव्र गतिमा अगाडि बढेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनु भयो । महोत्सवमा तीन सयभन्दा बढी स्टल रहने आयोजक पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुबहदुर कार्कीले जानकारी दिनु भयो । जसमध्ये ३० वटा कृषि, पशु, घरेलु उद्योगबाट उत्पादित वस्तुको निःशुल्क स्टल रहने छन् । नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तार गर्ने उद्देश्य राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनु भयो ।
तानसेन नगरपालिकाको मुख्य आयोजना, पाल्पा व्यापार सङ्घको आयोजना, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, वन तथा वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय घरेलु तथा साना उद्योग पाल्पाको सह आयोजना तथा एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि भरतपुर चितवनको व्यवस्थापनमा महोत्सव हुन लागेको हो ।
प्रकाशित मिति : बिहीबार, चैत १४, २०८१