काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताउनु भएको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफै मालिक हुने व्यवस्था भएको बताउनु भयो।
‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो,’ उहाँले भन्नु भयो ।
स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने उसमेत बताउनु भयो।
‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्। संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौं। यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो,’ उहाँले भन्नु भयो।
राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरूरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनताकेन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताउनु भयो।
राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको समेत उल्लेख गर्नु भयो ।