तानसेन, पाल्पा । यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस सभापतिमा चार जनाको उम्मेदवारी परेको छ ।
अनेरास्ववियुबाट अनुजा अर्याल, अनेरास्ववियु क्रान्तिकारीबाट मिलन घर्ती, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु छैठौंको संयुक्त प्यानलबाट कृष्ण अर्याल र अनेरास्ववियू स्वतन्त्रबाट उमेश भण्डारीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जीवन बहादुर थापाले बताउनु भयो ।
मिश्रित निर्वाचन प्रणालीअनुसार प्रत्यक्ष र सामानुपातिक दुवैतर्फका उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएकोमा प्रत्यक्षतर्फ कुल ३७ जना र समानुपातिक तर्फ ३० जनाको बन्दसूचीमा नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत थापाले जानकारी दिनु भयो ।
अनेरास्ववियुका तर्फबाट सचिवमा दिपेश ज्ञवाली र कोषाध्यक्षमा इन्दु गाहाले उम्मेदवारी दर्ता गराएका छन भने अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट सचिवमा विपिन पंगेनी र कोषाध्यक्षमा गंगादेवी बाह्रघरेको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेविसंघबाट स्ववियु सचिवका लागि सुशिल बस्याल र कोषाध्यक्षमा मिस्मा रानाले उम्मेदवारी दर्ता गरेका छन् । अनेरास्ववियू, स्वतन्त्रबाट कोषाध्यक्षमा नविन घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
स्ववियु निर्वाचनमा उम्मेदवार बन्न २८ वर्ष नपुगेको उमेरको हद तोकिएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् भने उपाध्यक्ष, सहसचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् ।
क्याम्पसमा रहेका विद्यार्थी मतदाताको संख्याका आधारमा स्ववियुको कार्यसमितिको संख्या कायम हुने व्यवस्था गरिएको छ । निर्वाचनका लागि त्रिविले आचारसंहितासमेत जारी गरेको छ । क्याम्पस हाताभित्र भित्ते लेखन, माइक प्रयोग, तुल फ्लेक्स तथा पोस्टर टाँस्न निषेध गरिएको आचारसंहितामा उल्लेख छ । घोषणापत्र र उम्मेदवारको नामवली पर्चा भने एकै रङ र साइजको कागजमा प्रचारप्रसार गर्न पाइने व्यवस्था गरिएको छ ।