काठमाडौं । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग गर्ने बताउनु भएको छ ।

मोरङको गोठगाउँमा आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले विश्वविद्यालयले प्रविधिसँग जोडिएको, अनुसन्धानमुखी तथा रोजगारमूलक शिक्षालाई प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वविद्यालयले अगाडि सारेको शैक्षिक सुधार अभियान, भौतिक पूर्वाधारकोे सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सरकारको पूर्ण साथ रहने समेत उल्लेख गर्नु भयो ।

समारोहमा दीक्षित भएका विभिन्न सङ्कायका विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेश पलायन नभई मुलुकको विकासमा लाग्न आग्रहसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो सीप, ज्ञान र दक्षता प्रयोग गरी मुलुकको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दीक्षित भएका सबै शिक्षित जनशक्तिलाई देशभित्रै अवसरहरू खोज्न, सिर्जनशील उद्यमशीलता अँगाल्न र मुलुकको समग्र विकासमा योगदान दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय युवा शक्ति विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै राज्यको प्राथमिकता स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारी र अवसर सिर्जना गर्ने रहेको स्पष्ट पार्नुभयो । सरकारले उच्च शिक्षामा नवप्रवर्तन (इनोभेसन) तथा अनुसन्धानलाई प्रवद्र्धन गर्न, विश्वविद्यालयहरूलाई आधुनिक प्रविधिसँग सुसज्जित बनाउने तथा उच्च शिक्षापछि नेपालमै रोजगारी सुनिश्चित गर्ने योजनालाई अघि बढाइरहेको जानकारी गराउनु भएको थियो ।

दीक्षान्त समारोहमा ८ हजार १५० विद्यार्थी दीक्षित भएका थिए भने स्नातक, स्नातकोत्तर र एमफिल तहका विभिन्न १७ जना विद्यार्थीलाई स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा निर्माण गरिएको स्कुल अफ एग्रिकल्चर र स्कुल अफ हेल्थ साइन्सको भवनको समुद्घाटन समेत गर्नुभएको थियो ।