काठमाडौं । काठमाडौंको बसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै आजबाट र‌ङ्गहरुको पर्व फागु अर्थात् होली सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

यही प्रचलन अनुसार शुक्रबार आज बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो । चीर ठड्याएको दृष्य हेर्न बसन्तपुर दरबार क्षेत्रमा स्थानीय भेला भएर एकअर्कालाई अबिर दलेर खुसीयाली मनाएका छन् ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।