रामपुर, पाल्पा । रामपुर नगरपालिका पाल्पाको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ ।
आगामी असार मसान्तसम्ममा सम्पन्न गर्नेगरी निर्माण कार्य अगाडि बढाईएको यस हरियाली सहितको उद्यानमा पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी र चारैतिर घेराबार रहनेछ ।
लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित २६ करोड ७१ लाख बराबरको रकममध्ये एक करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँ ३० पैसाको लागतमा उक्त उद्यान निर्माण हुन लागेको हो । बाँकी रकमबाट रामपुर नगरपालिका–५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजना अन्तर्गत उद्यानसहित यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिनु भयो ।
रामपुरलाई नमूना नगर बनाउन बृहत् उद्यान निर्माण कार्य भइरहेको मेयर थापाले बताउनु भयो । उहाँले भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधासम्पन्न शहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनु भयो ।
पवित्र कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडकमार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक शहर बन्ने भन्दै उहाँले त्यसका लागि नगरपालिकाले आवश्यक योजनाका साथ काम गरिरहेको समेत उल्लेख गर्नु भयो । रासस