डिल बहादुर खन्गाहा
निस्दी, पाल्पा । निस्दी गाउँपालिका गल्धाफाँट कठैडाँडा सडक खण्ड अन्तर्गत निस्दी खोला पक्की पुलको लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले शिलान्यास गर्नु भएको छ ।

पुलको शिलान्यास गर्नुहुँदै मन्त्री ढकालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन र यातायातको पहुँचलाई सहज बनाउन पुल निर्माणले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । पुल निर्माणको लागि मन्त्रालयले यस वर्ष ५० लाख विनियोजन गरेको जानकारी दिदै निर्धारित समयमा पुल सम्पन्न गर्नको लागि रकमको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकामा पछिल्लो समय संघ र प्रदेश सरकार मार्फत रणनैतिक सडक पूर्वाधार निर्माणका कार्य अघि बढेको बताउनु भयो । उहाँले निस्दीमा सडक, पुल, अस्पताल लगाएतका पूर्वाधार निर्माण भैरहेको जानकारी गराउनुभयो । अम्रिसो खेती, पशुपालन, अदुवा, गेडागुडी उत्पादन मार्फत स्थानीय आत्मनिर्भरता तर्फ अघि बढन सफल भएको उहाँको भनाई थियो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले विकासका लागि जनप्रतिनिधिहरु सहकार्य गर्दै अघि बढेको बताउनु भयो । निस्दीमा मगर संस्कृतिलाई प्रर्वद्धन गर्दै पर्यटनको विकास गर्न सकिने बताउनु भयो । उहाँले पूर्वाधार निर्माण, पर्यटन एवं कृषिको उत्थान संगै सामाजिक विकासलाई पनि ध्यान दिनु आवश्यक रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले अधिकांश गाउँ तथा टोल सडक सञ्जालसंग जोडिएको बताउँदै अब स्तरोन्नतिको खाँचो रहेको बताउनुभयो । निस्दीको स्थानीय उत्पादन बजारिकरणमा सडक पूर्वाधार निर्माणले टेवा दिएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डे लगायतले पुल निर्माणले स्थानीयको जीवनयापनमा महत्वपूर्ण टेवा दिने बताउनुभयो । निर्माण व्यवसायी खिम बहादुर केसीले पुल निर्माण कार्य समय मै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

निस्दी खोला पुल निर्माणको लागि सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ७ करोड १० लाख १९ हजार ६३३ रुपैयाँ ६ पैसा लागत अनुमान सहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी–शुक्र कमली–हेभन जेभि कञ्चनपुरले भ्याट सहित ५ करोड ९८ लाख ६३ हजार ९३३ रुपैयाँ २४ पैसा लागतमा दुई वर्ष भित्र सम्पन्न गर्ने गरी गत कार्तिक ४ मा ठेक्का सम्झौता गरेको हो ।