पाल्पा । आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा ५ वटा संघ संगठन र एउटा समुहले नाम दर्ता गरेका छन् ।
विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले तय गरेको कार्यतालिका अनुसार नै पाल्पाका क्याम्पसहरुमा संघ संगठनहरू दर्ता भएका हुन् ।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) र विएसी स्वतन्त्र विद्यार्थी समुहले दर्ता गरेको क्याम्पस प्रमुख टंक प्रसाद पन्थले बताउनु भयो । यहाँ २ हजारको संख्यामा मतदाता रहेका छन् । यसअघिको स्ववियु निर्वाचनमा सबै संघ संगठनको सयुक्त प्यान निर्वाचित भएको थियो ।
यसैगरी सहिद बहुमुखी क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) ले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख मुरारीराज काफ्लेले बताउनु भयो । यस अघिको स्ववियुको प्रत्यक्ष निर्वाचनमा सहिद बहुमुखी क्याम्पस रापुरमा नेविसघं र अखिल क्रान्तीकारी गठबन्धन विजयी भएको थियो । क्याम्पसमा करीव ७ सय मतदाता रहेका छन् ।
माण्डव्य बहुमुखी क्याम्पस दकमडामा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख रुद्र बस्यालले बताउनु भयो । यस अघि प्रत्यक्ष निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको थियो । माण्डव्यमा २ सय मतदाता रहेका छन् ।
उद्वुद्ध कलेज पूर्वखोला पाल्पामा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको लागि दर्ता गरेको क्याम्पस प्रमुख हरि प्रसाद न्यौपानेले बताउनु भयो। यस अघिको निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको थियो । क्याम्पसमा १ सय ५० जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालयले यही फागुन १९ गते संघ संगठन, समुह दर्ता, २१ गते मतदाता सूची प्रकाशित गर्ने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, २७ गते प्रत्यक्ष र समानुपातिक दुबै तर्फको नामावली प्रकाशित गर्ने, २९ गते दुबै तर्फको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चैत्र ५ गते मतदान मिति तोकेको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु निर्वाचन समितिका संयोजक जीवन थापाले बताउनु भयो ।
निर्वाचन समितिले निर्वाचनका लागि फागुन २९ गते अपरान्ह २ बजेदेखि चैत्र २ गतेसम्म प्रचार–प्रसारका लागि समय तोकेको छ । त्यसपछि मौन अवधि शुरु हुने पनि समितिले जनाएको छ । चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।