माथागढी,पाल्पा । नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । माथागढीको वडा नं. ३, सराइस्थित लखन पार्कमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सहअध्यक्ष दलबहादुर विरक्ट्टामगरले मगर संघ स्थापनाको ओैचित्यमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका विरकट्टामगरले मगर समुदायको सामाजिक, आर्थिक र राजनैतिक अधिकार स्थापित गर्नका लागि ४३ वर्षअघि मगर संघको स्थापना भएको उल्लेख गर्नुभयो । उहाँले मगर समुदायको शैक्षिक, भाषा, कला, संस्कृति, भेषभूषा र रहनसहनका मुद्दाबाट सामाजिक अधिकार स्थापित गर्न संघले सङ्घर्षका कार्यक्रम गरिरहेको बताउनुभयो । सहअध्यक्ष विरकट्टामगरले मगर समुदायमा प्रचलित खानपान तथा उत्पादित बस्तुको बिक्री गरेर मगर समुदायलाई आर्थिक रूपमा शसक्त बनाउन सबैले उचित पहल लिन आवश्यक रहेकोमा जोड दिनुभयो । विगतको राज्यसत्ताले मगर समुदायमाथि थोपरेको विभेदकारी नीतिका कारण मगर समुदाय पछि परेको समेत उल्लेख उहाँले गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले मगर समुदायको शसक्तिकरणका लागि पालिकाले काम गरिरहेको बताउनु भयो । उहाँले शिक्षा र प्रविधिको भरपूर उपयोग गरेर मगर समुदायको आर्थिक र सामाजिक अधिकारका लागि पालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल मगर सङ्घका लुम्विनी प्रदेश समितिका सचिव तथा माथागढी वडा नं ३ का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले आगामी फागुन १५ गते मगर एकता दिवसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मगर समुदायको संस्कार सुधार गर्ने तथा संस्कृति जगेर्ना गर्ने गरी मगर एकता दिवस मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मगर संघ माथागढी समितिका अध्यक्ष भेकराज थापाले माथागढीको सराइस्थित लखन पार्कमा फागुन १५ गते मगर राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले १५ गते बृहत् सांस्कृतिक प्रदर्शनी, सभा, सांस्कृतिक प्रस्तुती तथा झाँकी प्रदर्शन हुने बताउनुभयो । अन्तरक्रिया कार्यक्रम अध्यक्ष थापाको अध्यक्षता र सचिव खोमबहादुर गाहाको संचालनमा सम्पन्न भएको थियो ।