रासस
घोराही, दाङ । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु) को खेती गर्दै आउनु भएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा तल्लिन हुनुहुन्छ । उमेरले २६ वर्ष पुग्नु भएका खड्काले यही व्यवसायबाट वार्षिक ६ लाख बचत गर्दै आउनु भएको छ।
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरी खेतीबाट सोचेभन्दा पनि राम्रो भएको बताउनु भयो ।
सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आउनु भएका खड्काले वार्षिक रूपमा १४ लाख बराबरको कारोबार गर्न सफल हुनु भएको छ। दाङमै स्ट्रबेरी प्रतिकिलो आठ सयका दरले बिक्री हुने गरेको छ ।
उहाँले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आउनु भएको छ भने हिजोआज फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको बताउनु भयो । यस वर्षको हालसम्म चार लाख बढीको बिक्री गरिसकेको बताउनु भयो ।
किसान खड्काले कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको बताउदै विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको जानकारी दिनु भयो ।
उहाँले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरिरहनु भएको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उहाँले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्नु हेन्छ भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आउनु भएको छ ।
स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख बढी खर्च भएको बताउनु भयो । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको र यसले अझै राम्रो आम्दानी दिने आशा रहेको पनि बताउनु भयो ।
स्ट्रबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उहाँले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेको बताउनु भयो । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नुपर्छ भनेर जिल्लामा स्ट्रबेरी खेती गर्दै आएको समेत बताउनु भयो । किसान खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जग्गामा स्ट्रबेरीको व्यावसायिक खेती थाल्नु भएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताउनु भयो । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको समेत उल्लेख गर्नु भयो । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिग्रेर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने सुझाव दिनु भयो।
जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको, स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा भएको र आज भोलिको समय राम्रो भएकाले जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको बताउनु भयो ।