रिब्दीकोट, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ मा व्यवसायिक रूपमा पालेका ३ सय ५० भन्दा बढि बाख्रामा एकैपटक महमारीको रूपमा पिपीआर रोग देखिएपछि किसान चिन्तित भएका छन् ।

पालिकाका पशु शाखा प्रमुख गिता नेपालीका अनुसार गत माघ २५ गते मरेको बाख्राको नमूना संकलन गरी प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीमा परिक्षणको लागि पठाइएकोमा पिपीआर रोग लागेको पुष्टी भएको हो । सोही पालिकाको वडा नम्बर ४ मा पनि सोही प्रकृतिको रोगको लक्षण देखिएको पशुप्राविधिक नेपालीले बताउनु भयो । यसको भने पुष्टी हुन बाँकी छ । पालिकामा भित्र हालसम्म १५ भन्दा बढि बाख्रा मरिसकेका छन् भने ३ सय ५० भन्दा बढि बाख्रा बिरामी भएका छन् । पशुशाखा प्राविधिक नेपालीले रोग प्रमाणित भएपछि रोग निधानको लागि उपचार अगाडि बढाएका र बाख्रा मर्ने दर कमी भएको भएपनि यसको रोगथाम हुनेनहुने थाहाँ नभएको जानकारी दिनु भयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालका अनुसार पशु अन्वेशष्ण प्रयोगशालाबाट पिपीआर रोग भेटिएको पुष्टी भएपछि विज्ञ केन्द्रको बजेटमा ५० हजार रूपैयाँ बराबारको औषधी खरिद गरी पालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनु भयो । उहाँले वडा नम्बर ६ र ८ को ठीमुरे क्षेत्रमा देखिएको पिपीआर रोगको आवश्यक उपचारका लागि औषधी र थप परिक्षणको लागि किट समेत उपलब्ध गराइएको जानकारी दिनु भयो । पालिकाको अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षण देखिएको भन्दै उहाँले यो विषयमा परिक्षणको लागि पोखरा प्रयोगशालाबाट थप किट ल्याएर परिक्षण गर्ने गरी काम अगाडि बढेको जानकारी दिनु भयो ।

बाख्रामा लाग्ने रोगहरूमध्ये पिपिआर रोग सूक्ष्म विषाणुबाट लाग्ने अत्यन्त सङ्क्रामक महामारी रोग हो । भेडाबाख्रामा लाग्ने भएपनि बाख्रामा यसले बढी असर गर्ने गर्दछ । यस रोगका मुख्य लक्षणहरूमा बाख्रालाई ज्वरो आउने, छेर्ने, मुखभित्र घाउ हुने र अन्त्यमा निमोनिया भएर मर्ने हुन्छन । रोग नभित्रिएको क्षेत्रका बाख्रामा यो रोग फैलिएमा सबै भेडाबाख्रामा रोग लाग्ने र २० देखि ९० प्रतिशतसम्म बाख्राहरू मर्न सक्ने विज्ञहरु बताउने.बताउछन् ।

तीन महिनादेखि दुई वर्षको उमेरभित्रका बाख्रामा यो रोगले बढी असर गर्दछ । मानिसमा यस रोगको सङ्क्रमण नहुने पशु प्राविधिक बताउँछन् । रोग अति तीक्ष्ण र जटिल नभएको अवस्थामा लक्षण देखा परेको ८ देखि १० दिनपछि रोगी बाख्राहरू निको हुन सक्छन र यसरी निको भएपछि जीवनभरि यो रोग लाग्दैन । बाख्रालाई रोगबाट बचाउन यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका बाट प्रत्येक बर्ष ८ हजार देखि ८५ सय भन्दा बढि खासी बोका विक्रि हुँदै आएका छन् । रेडा पाल्पाका प्राविधिक मिना खड्काका अनुसार अहिले पालिकामा व्यवसायिक रूपमा पशुपालन गर्दै आएका किसानहरू ३ हजार ५ सय भन्दा बढि छन् । पालिकाले बिहीबार पनि उक्त प्रभावित क्षेत्रमा अनुगमन अध्ययन गरेको छ । पशुस्वाथ्य प्राविधिक सहित अवलोकन गरिएको पशुस्वास्थ्य शाखा प्रमुख गिता नेपालीले बताउनु भयो ।