काठमाडौं । सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्र भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नु भयो ।
सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्नु भयो । उहाँले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा परेकोमा दुःख व्यक्त गर्दै उहाँहरुको स्वास्थ्यलाभको कामना समेत गर्नु भयो ।
सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नु भयो । नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान नदिनाले उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेको उल्लेख गर्दै उहाँले जलन जसलाई जहाँ पनि हुनसक्छ, सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौँ, उपचार केन्द्र स्थापना गरौँ भन्दै आवाज उठान गर्नु भयो ।
सांसद शोभा ज्ञवालीले बर्दियाको मधुवन नगरपालिकामा पछिल्लो एक महिनामा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएको जनाउँदै मृतकका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकरको ध्यानाकर्षण गराउनु भयो । जङ्गली जनावरको आक्रमणबाट सयौँले ज्यान गुमाएको, सयौँ घाइते भएको र हजारौँ भेडाबाख्रासहित पुशचौपाया र खेतीबाली नष्ट भएको बताउदै उहाँले वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने र तत्काल सो क्षेत्रमा तारजाली र पर्खाल लगाउन सरकारको ध्यानाकर्षण गराउँनु भयो ।
सांसद अब्दुल खाँनले पछिल्लो समय जङ्गली जनावरले घरखेतमै आएर मानिसलाई आक्रमण गर्ने गरेको जनाउँदै जङ्गली जनावरको आक्रमणबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकरको ध्यानाकर्षण गराउनु भयो । “काँडेतार र पर्खाल लगाएर हुन्छ वा बस्ती नै सारेर हुन्छ, बर्दियाका नागरिकको जीउधनको रक्षा गर्नुपर्छ”, उहाँले भन्नु भयो ।
सांसद अच्युत मैनालीले सुधारगृह यातनागृहका रुपमा परिणत भइरहेको हुँदा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद धवलशम्शेर जबराले नेपालमा धर्म परिर्वतनका लागि अमेरिकाबाट ठूलो रकम खर्च भएको भन्ने सुनिएको जनाउँदै त्यसबारेमा छानबिन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
यस्तै सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकको मानवअधिकार रक्षामा नेपाल सरकारले तत्काल उचित संवाद गर्नुपर्नेमा जोड दिनु भयो ।