एवत सारु
फोक्सिङकोट, पाल्पा । रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोट पाल्पाको रानीबास सामुदायिक होमस्टे औपचारिक रुपमा शुरु भएको छ । विगत २ महिना अगाडि देखि सञ्चालनमा भएता पनि एक औपचारिक कार्यक्रम गरी होमस्टे शुभारम्भ भएको हो । संघीय सांसद नारायणप्रसाद आचार्य तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले संयुक्त रुपमा रानीबास होमस्टे तथा जनजाति संग्रहालयको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद नारायणप्रसाद आचार्यले आन्तरिक पर्यटन प्रवर्धन गरी समुदायको आय बृद्धिमा रानीबास सामुदायिक होमस्टे फलदायी हुने बताउनु भयो । उहाँले रम्भा गाउँपालिकाको रानीबास गाउँ प्राकृतिक सौन्दर्यता, कला संस्कृतिको विविधताले भरिएको र स्थानीयको जागरुकताको कारण रानीबास सामुदायिक होमस्टे सफल हुने कुरा बताउनु भयो ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्थानीय उत्पादन गर्नुपर्नेमा जोड दिदैं स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्न र संस्कृतिलाई आय आर्जनको महत्वपूर्ण साधनको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले अतिथि सत्कार र कला संस्कृतिको माध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउदै होमस्टे सफल हुने शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, होमस्टे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष धनीश्वर बस्याल, जिल्ला समन्वय समितिको सदस्य भोवीसरा सारु लगायतले रानीबास सामुदायिक होमस्टेको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।

यसैगरी रम्भा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, रम्भा गाउँपालिका १ हुँगी वडाध्यक्ष इश्वरी काफ्ले, वडा नं. २ फोक्सिङ्गकोटका वडाध्यक्ष चेतबहादुर सुनारी, रम्भा गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर दिपककुमार सारु, समाजसेवी हुमबहादुर सुनारी, हेमराज अर्याल, धनबहादुर पौडेल, विष्णु पछाईं लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

रम्भा गाउँपालिकाको वडा नं. २ फोक्सिङ्गकोटको रानीबास गाउँमा ९२ घर मगर समुदायका मानिस बसोबास गर्छन । प्राकृतिक सौन्दर्यता र कला संस्कृतिले भरिपूर्ण भएकोले रम्भाा गाउँपालिकाले रानीबास गाउँमा होमस्टे सञ्चालन गर्न विशेष पहले गरेको थियो । समुद्र सतह देखी करिब १२०० मिटर उचाईमा रहेको रानीबास गाउँको बिचमा रहेको चुर्की थानबाट उत्तर तर्फ रहेको माछापुच्छे्र, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाका साथै स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगरको जङ्गल, सिद्धार्थ राजमार्ग, कालीगण्डकी नदी, राम्दीपुल लगायतका चर्चित स्थानहरु एकै नजरमा देख्न सकिने भएकोले आन्तरिक पर्यटकहरु आउने गर्दछन ।

गाउँमा झामे्र नाच, मारुनी नाचका साथै सालै जो लगायतका कला सँस्कृति समेत रहेकोले यहाँ आउने पर्यटकहरु खुशी हुने गर्दछन । विगत ३ वर्ष देखि निर्माणाधीन आदिवासी जनजाति संग्रहालयको निर्माण कार्य सम्पन्न भएपछि मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचिन सामानहरु संग्रहालयमा राखिएका छन ।

कार्यक्रममा स्थानीय समुदायले झाम्र नाच, मारुनी नाच, सालै जो लगायतका मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित हुने विभिन्न महानुभावहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षता र गीता नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।