विष्णु जिसी
झडेवा, पाल्पा । रत्न माध्यमिक विद्यालय माथागढी-४ देवगिर पाल्पामा खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबारे कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा खाना महोत्सवको आयोजना गरेका हुन । उक्त साँस्कृतिक तथा खाना महोत्सवमा विद्यार्थीहरुले सेलरोटी, चुकाउनी, वटुक, चट्नी, भुटेको मकै, भेज म:म, चटपटे र पानीपुरी तथा ललिपप लगायतका स्थानीय खानाका परिकारहरु बनाएर विक्रि गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर जिसीले यस प्रकारको कार्यक्रमबाट विद्यार्थीहरुलाई व्यवहारिक र सीपमुलक ज्ञान सिक्ने तथा प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने बताउनु भयो । उहाँले अहिलेका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक र व्यवसायिक ज्ञान सिक्न सके भविश्यमा आयआर्जन तथा आत्मनिर्भर बन्न सजिलो हुने समेत उल्लेख गर्नु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक नीर बहादुर सारु र वडा सदस्य हुम बहादुर सारु लगायतले विद्यार्थीहरुको प्रतिभा र सीपको प्रशंसा गर्दै यसको निरन्तरताको लागि सवै जना लाग्नु पर्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नीर बहादुर सारुको अध्यक्षतामा सम्पन्न उक्त खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
