रामपुर, पाल्पा । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । गत माघ १७ देखि सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाईनलमा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेल पाल्पाले उपाधी जितेको हो ।
उपाधी संगै नमस्ते होटल पाल्पाले नगद ५१ हजार १ सय ११ रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ । नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतिस्पर्धा गर्नु भएको थियो । यस्तै सुमन थापा र सिमा सारुले प्रतिनिधित्व गर्नु भएको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पाले द्वितीय स्थानसंगै ३१ हजार १ सय ११ नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको तृतीय स्थान छनौटका लागि भएको प्रतिस्पर्धामा पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अंक प्राप्त गर्दै दुवै टिमले तृतीय स्थान हासिल गरेको छ । तोयानाथ वि.क. र विपना खनालले प्रतिनिधित्व गर्नु भएको पृथ्वी टेलिभिजन र विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नु भएको श्रीनगर होटल रामपुरले २१ हजार १ सय ११ प्राप्त गरेको छ ।

आठ समूहको सहभागीता रहेको प्रतियोगितामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटालाई उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेललाई उत्कृष्ट गायिका घोषित गरिएको दोहोरी गीत प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिनुभयो । फाईनल प्रतियोगिताको मूल्यांकन संयोजकमा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक दुर्गा रायमाझी रहनु भएको थियो ।