भुवन सिंजाली
देवीनगर, पाल्पा । पूर्वखोला गाउँपालिकाले २०८१ सालको कक्षा नर्सरि देखि ९ कक्षा सम्मको वार्षिक परीक्षा चैत १३ गते देखि संचालन गर्ने निर्णय गरेको छ।
पुर्वखोला गाउँ शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले माध्यमिक तहको खेलकुद प्रतियोगिता फागुन ९ र १० गते गाउँपालिको खेलमैदान जल्पामा संचालन गर्ने, अभिभावक विहिन विद्यार्थीहरुलाई तहगत रुपमा सम्बन्धित विद्यालयमा आर्थिक र शैक्षिक सामाग्री सहयोग गर्ने समेत निर्णय गरेको छ ।

कक्षा ८ मा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कृत गर्ने, अवकाश प्राप्त शिक्षकलाई सम्मान गर्ने , सरस्वती माद्यामिक विद्यालयले माद्यामिक तह गणित शिक्षक माग गरेकोमा शिक्षक व्यवस्था गर्ने, जनजागृति प्राथमिक विद्यालयले १ थान कम्पुटर माग गरेकोले कम्पुटर सहयोग गर्ने, गाउँपालिका भित्र उत्कृष्ट कार्यसम्पादन गर्ने उद्बुद्द माध्यमिक विद्यालय रिङ्नेरहलाई ३ लाख र गणपति माध्यमिक विद्यालय विरकोटलाई २ लाख अनुदान दिने समेथ निर्णय गरेको छ ।

यस्तै वैदेशिक रोजगारिमा अभिभावक गुमाएका विद्यार्थीको छात्रवृत्तिको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, शिक्षा समितिमा रिक्त रहेको विभिन्न क्षेत्रका सदस्यहरु मध्ये पदम बहादुर थापा, केश बहादुर फाल, विन्दु परियार, रितमान श्रेष्ठ र संगिता डोटेललाई मनोनयन गर्ने, बाल मैत्री विद्यालयको कार्ययोजना तयार गर्ने, सामुदायिक विद्यालय मध्ये ४ वटा विद्यालयको कम्पनी दर्ता खारेज गर्न प्रक्रिया अगाडि बढाउने लगाएतको निर्णयहरु पनि गरेको छ।

बैठकमा शिक्षा शाखाका प्रमुख लोकहरि देवकोटाले शिक्षा शाखाको भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत भएको जानकारी दिनु भयो । प्रशासकीय प्रमुख सुन्दर प्रसाद श्रेष्ठले विद्यालयमा कार्यरत सबै कर्मचारीहरुलाइ मासिक रुपमा तलब भुक्तानीको व्यवस्था गरेको बताउनु भयो ।

शिक्षा समितिका अध्यक्ष नुन बहादुर थापाले बैठकलाई सम्बोधन गर्नु हुदै खर्च गरेअनुसार गुणस्तरीय शिक्षा वृद्धि नभएको भन्दै अब शिक्षकले सम्बन्धित विद्यालयको प्रधानाध्यापकसँग र प्रधानाध्यापकले शिक्षा समितिसँग प्रगति सम्झौता गर्नु पर्ने बताउनु भयो । उहाँले सोहि संझौता अनुसार अगाडि बढ्नु पर्ने बताउदै गाउँपालिकाले शिक्षकको व्यवस्था, विषयगत शिक्षकलाई तालिम, शैक्षिक सामाग्री र भौतिक विकासका काम गरेको भन्दै अब विद्यालयले योजना माग गर्दा भौतिक निर्माणका भन्दा शैक्षिक उपलब्धी हुने खालको योजना माग गर्न निर्देशन गर्नु भयो ।