देवीनगर, पाल्पा । भिमसेन प्राथमिक विद्यालय पूर्वखोला-४ देवीनगर पाल्पाका विद्यार्थीहरुलाई जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले न्यानो कपडा वितरण गर्नु भएको छ ।

न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि काजुमासा काकिमी ओके बाजेले ग्रामिण भेगका यस्तै विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुष्टि मिल्ने बताउनु भयो ।

यस अघि विभिन्न समयमा भौतिक तथा छात्रवृत्तिहरु सहयोग गर्नु भएका समाजसेवी काजुमासा काकिमी ओके बाजेले यसपटक ६५ जना विद्यार्थीहरुलाई जाडो मौसममा लगाउने स्वीटर तथा टोपी सहयोग गर्नु भएको प्रधानाध्यापक राधा सिकले जानकारी गराउनु भयो ।

विद्यालयलाई सहयोग गर्नु भएकोमा समाजसेवी ओके बाजे र समन्वयका लागि समाजसेवी पूर्ण बहादुर गाहालाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर गाहा र प्रअ राधा सिकेलेले धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दै पाल्पाली ढाका ढोपीले सम्मान गर्नु भएको थियो ।

शिक्षकअभिभावक संघका अध्यक्ष इन्द्रा गाहा, लक्ष्मी बिक र खेम बराल लागयतको उपस्थिति रहेको कार्यक्रमलाई शिक्षक विष्णु माया बारघरेले स्वागत गर्नु भएको थियो ।

तीन दशकदेखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनु भएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूह लगायतका धेरै क्षेत्रमा उहाँको ठूलो सहयोग छ ।