माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पामा रहेको शम्भु मावि जल्पाले शिक्षक अभिभावक भेला गरी अभिभावक संघको पुनर्गठन गरेको छ ।

भेलाले ललिता बिकको अध्यक्षतामा ११ जना सदस्य रहेको अभिभावक संघ गठन गरेको हो । उक्त भेलाका प्रमुख अतिथि पूर्वखोला गाँउपालिका वडा नं. २ जल्पाका वडाध्यक्ष निर वहादुर सारुले यो समितिले आफ्ना बालबालिकाहरुको प्रत्यक्ष निगरानीमा शैक्षिक गुणस्तर सुधारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले विद्यालयबाट हुने बिभिन्न शैक्षिक गतिबिधिमा विद्यालय ब्यबस्थापन समितिसँग सहकार्य गरेर अघि बढेमा विद्यालय राम्रो हुने र विद्यालय राम्रो हुनु भनेको तपाईकै सन्तानको भविश्य राम्रो हुनु हो भन्नु भयो ।

खेल्ने समुह (प्ले ग्रुप) देखि कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा २ सय ३८ जना विद्यार्थीले अध्ययन गर्छन्। कक्षा ६ सम्म अङ्ग्रेजी माध्यममा पढाई हुने यस विद्यालयमा निजि स्रोत, राहत र अनुदान तथा स्थायी दरबन्दी गरी २६ जना शिक्षक कर्मचारीहरुले अध्यापन गराउँदछन्।

यसै अवसरमा अभिभावक हुम वहादुर झेडीं , विद्यालय ब्यावस्थापन समितिका मन वहादुर ठाडा र जनप्रतिनिधि खेम वहादुर घर्ती लगायतले शुभकामना दिनु भयो । शिक्षक श्रीधन कवरको संचालन र अभिभावक इन्द्र घर्तीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।