काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार आज भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो ।
वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ । यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।