सराई,पाल्पा । माथागढी गाउँपालिका पाल्पाको छैटौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता वडा नं. ३ कसेनीको सराइ खेल मैदानमा शुरु भएको छ ।

गाउँपालिका भित्रका १५ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएको उक्त प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीमा अनुशासन र एकताको भावना जागृत गराउन खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । सांसद आचार्यले माथागढीले विगतमा पनि जिल्लास्तरीय खेल सञ्चालन गर्न सफल भएको स्मरण गर्दै पालिकाभित्रका विभिन्न विद्यालयहरूका बीचमा हुने प्रतिष्पर्धा भव्यरुपमा सम्पन्न हुनेमा आफु विश्वस्त रहेको उल्लेख गर्नु भयो ।

यस्तै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले माध्यमिक तहका विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्न आग्रह गर्नुभयो । उहाँले पालिका स्तरीय प्रतिष्पर्धाले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरको खेलाडी बन्ने अवसर समेत प्राप्त हुने हुँदा खेलाडीहरुले खेलको अनुशासनलाई कायम गर्न सक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियोगिताले खेलाडी र दर्शकमा समेत राष्ट्रिय भावना एकीकृत गर्न सहयोग पुग्ने बताउनु भयो ।

माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, दौड, हाइजम्प लङ्जम्प, कपड्डी, कराते र सटफुट लगायतका खेल हुने खेलकुद संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको उपाध्यक्ष विष्णुमाया लुङ्चेले स्वागत र दिव्यज्योति नमुना माविका प्रधानाध्यापक लोकेन्द्र थापाले सञ्चालन गर्नु भएको थियो ।