बुटवल । मणिमुकुन्द सेन उद्यान पार्क (फूलबारी) बुटवलले ईतिहासका जानकार, पर्यटनकर्मी, संस्कृतिकर्मी र पत्रकारबीच विहिवार संस्थाको ऐतिहासिक दस्तावेजीकरण विषयमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफल कार्यक्रममा पार्कका संस्थापक अध्यक्ष एवम् वर्तमान संरक्षक माननीय भोजप्रसाद श्रेष्ठले ऐतिहासिक दस्तावेजीकरणको खोजी र प्रकाशनका विषयमा आफ्नो मत जाहेर गर्नु भएको थियो। त्यसैगरी ईतिहासविदहरु निर्मल श्रेष्ठ र बिमलबहादुर शाक्यले फूलबारीलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै ऐतिहासिक दस्तावेज खोज, अध्ययन र अनुसन्धान गरी आवश्यक पुस्तक वा जर्नल प्रकाशनमा जोड दिनुपर्नेमा जोड दिनु भयो ।
सो छलफल कार्यक्रममा पत्रकार डीआर घिमिरे, दलबहादुर गुरुङ र महेन्द्र थापा लगायतले फूलबारीलाई यस क्षेत्रको ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउनका लागि ऐतिहासिक दस्तावेज नयाँ पुस्ताले बुझ्नेगरी प्रकाशन गरी प्रचारप्रसारमा जोड दिन अनुरोध गर्नु भयो । छलफल कार्यक्रम पछि पार्कले ऐतिहासिक दस्तावेज खोज, अध्ययन र अनुसन्धान तथा पुस्तक प्रकाशनको लागि संयोजन उपसमिति बनाउने सैद्धान्तिक सहमति गरेको छ ।
छलफल कार्यक्रममा पार्कका अध्यक्ष माधव नेपाल र महासचिव युवराज घिमिरेले छलफलमा विषयवस्तु प्रस्तुत र सहजीकरण गर्नु भएको थियो ।