विष्णु जि.सि.
सिलुवा, पाल्पा । उज्ज्वल स्वावलम्वी आयआर्जन महिला समूह सिलवा पाल्पाका २० जना महिलाहरुले हेफर आधारशिला तालिम लिएका छन् ।
परियोजना व्यवसाय विकास सहजकर्ता रविन्द्र पंगेनी र सामुदायिक सहजकर्ता थान बहादुर चिदीले शहजिकरण गर्नु भएको तालिममा सदस्यहरुको उत्तरदायित्व र जिम्मेवारी, दीगोपन र आत्म निर्भर हुने सीप, उपलब्ध स्रोतसाधनको उचित व्यवस्थापन तथा नेतृत्व शैली लगायतका १२ वटा आधारशिलाका सिद्धान्त सीपहरुको बारेमा सिकाईएको थियो ।

‘भोकालाई एक छाक खाना होइन, जिउने जुक्ति सिकाउ ‘ भन्ने नारा रहेको हेफर प्रोजेक्ट्को साझेदारी कार्यक्रम अन्तर्गत पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र साझेदारी संस्था समाज उत्थान सहयोग केन्द्रको सहजिकरणमा तालिम आयोजना गरिएको हो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य रितमान श्रेष्ठले तालिममा सिककेका सीप र ज्ञानहरु व्यवहारमा उतारी आर्थिक उपार्जनमा अघि बढ्न सवैलाई आग्रह गर्नु भयो । उहाँले यस प्रकारको तालिमले सामाजिक पुजीको विकास भई सामाजिक सदभाव बढ्ने अपेक्षा समेत व्यक्त गर्नु भयो ।