तानसेन, पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नवौ अधिवेशन तानसेनमा सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्नु हुदै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री एवं प्याब्सन पूर्व अध्यक्ष खेमबहादुर सारुले गुणस्तरीय र युग सुहाउँदो शिक्षामा प्याब्सनको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहाँले निजी विद्यालयका संचालकहरु स्वयम् उद्यमी बनी उद्यमशिलता प्रवर्दन गर्दै रोजगारी सृजनासंगै गुणस्तरिय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै ईन्टरनेट तथा AI जस्ता नविनतम प्रविधिको प्रयोग गर्न सक्ने दक्ष र सिप युक्त मानव संसाधनको उत्पादनमा लाग्नु पर्ने विचार समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्याव्सनका केन्द्रीय उपाध्यक्षद्धय आशिष श्रेष्ठ र विष्णु पन्थी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतले शुभकामना व्यक्त गर्दै प्याब्सनको योगदानबारे चर्चा गर्नु भएको थियो ।

अधिबेशनको अवसरमा प्याब्सनले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा समाजसेवाबाट पूर्णमाया महर्जन, शिक्षा सेवाबाट पुष्करराज रेग्मी, संस्कृतिकर्मीको तर्फबाट किरण चित्रकार, साहित्यकारको तर्फबाट चोलेश्वर शर्मा र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना रहेका छन् ।
यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट पाल्पा प्यारागन बोर्डिङ् स्कुुल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराई, सेन कपितानियो स्कुुलका अध्यक्ष सागरमान महर्जन, सनराइज बोर्डिङ स्कूलका जनक रिजेल, विजु बोर्डिङ् स्कुलका विरेन्द्रकाजी शाक्य, पूर्ण ज्योति बोर्डिङ् स्कुलका ऋषिराम अर्याल र विभिन्न विद्यालयबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थी, प्याब्सनसँग सहकार्य गर्ने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

अधिवेशनले डाँसुराम पन्तको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ । लामो समय पाल्पामा रहेर शिक्षण पेशामा सक्रिय गुल्मीका पन्त न्यूू होराइजन मावि तानसेनका प्रिन्सिपल समेत हुनुहुन्छ। यस्तै प्याब्सनको उपाध्यक्षमा अशेष भट्टराई, सचिवमा गंगाबहादुर खत्री, नगर अध्यक्षमा रुपचन्द थापा र कोषाध्यक्षमा दुर्गा प्रसाद बस्याल निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यसमिति सदस्यहरुमा देवबहादुर मश्राङ्खी, ऋषिराम अर्याल, टेकबहादुर कार्की, अनुराधा बज्राचार्य, दिलिप रायमाझी, ताजेन्द्र कुमार थापा, गोपालबहादुर पि।सी र गणेश बस्याल चयन हुनु भएको छ ।

अधिवेशन प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यको अध्यक्षता, उपाध्यक्ष डाँसुराम पन्तको स्वागत र सचिव अशेष भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।