रिडी, पाल्पा । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्‍क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ ।

रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो । माघे सङ्‍क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ । हिन्दू धर्ममा विश्वास राख्नेहरूको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।

रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने गर्दछ । चार धाममध्येको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सङ्‍क्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्दछ ।

माघे सङ्‍क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिका लागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । यस क्षेत्रमा प्राचिन समयमा देवदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

माघे सङ्‍क्रान्तिको अवसरमा सेतीबेनी, रुद्रावेणी, रानीघाट, राम्दी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।