खुमबहादुर पौडेल
हुमिन, पाल्पा । रम्भा गाउँ पालिका अन्तर्गत हुमिन सामुदायिक सिकाई केन्द्रको आयोजनामा २ दिने नेतृत्व तथा क्षमता बिकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

महिलाहरुको सीप र क्षमता बिकास गरि व्यवसाय उन्मुख बनाउने र आय आर्जनमा जोड दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिममा महिला सहभागिता, बिद्यमान सामाजिक समस्याको पहिचान र न्यूनीकरण , बित्तीय शिक्षाको महत्त्व, कृषि र पशुपालनमा देखा पर्न सक्ने समस्या तथा यसका समाधानका उपाय लगायतका बिषयमा छलफल चलाइएको थियो । पशु प्राबिधिक राम प्रसाद तिमिल्सिना र कृषि प्राबिधिक नबिना गैरेले व्यावसायिक कृषि र पशुपालनको सम्भावनाका बारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा रम्भा ४ हुमिनका वडा अध्यक्ष कृष्ण बहादुर रायमाझीले आधुनिक र व्यावसायिक कृषि प्रणालीबाट आम्दानी बढाउन र आत्मनिर्भर हुन सकिने बताउनुभयो । वडा सदस्य बिष्णुमाया पौडेल, वडा कार्यालय सहायक मिलन काफ्ले, शान्ति आधारभूत बिद्यालयका प्रधानाध्यापक अन्जु खनाल, सहभागी मैना सुर्यबङ्शी लगायतले महिलाहरुको चेतना र क्षमता बिकासबाट समाज रुपान्तरण हुने बिचार व्यक्त गर्नु भयो ।

तालिममा मार्सिडाडा व्यावसायिक महिला समुहका १६ जना महिलाहरुको सहभागिता रहेको थियो । समुहका अध्यक्ष याम कुमारी सुर्यबंसीको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।