माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा रहेको स्वास्थ्य चौकीले कार्यलयको पहुँचसम्म पुग्न नसक्ने नागरिकहरुको लागि घरमै पुगेर स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

फरक क्षमता भएका क र ख बर्गका व्यक्तिहरु तथा ८० बर्ष पुगेका जेष्ठ नागरिक गरि ८७ जनालाई यो सेवा दिएको जल्पा स्वास्थ्य चौकीका प्रमुख पदम थापा दर्लामीले जानकारी दिनु भयो । स्वास्थ्य चौकीका कर्मचारीहरु घरदैलोमा पुगेर सामान्य परीक्षण सहित रगतमा ग्लुकोजको मात्रा (सुगर लेवल) र पिसाबमा प्रोटिनको मात्रा परीक्षण गरिएको ल्याब असिष्टेन्ट बालकृष्ण देवकोटाले जानकारी दिनु भयो ।

उक्त परीक्षणमा असामान्य देखिएकाहरुलाई नियमित फलोअपको लागि आबश्यक सल्लाह सुझाव तथा बिरामीले पालना गर्नु पर्ने पक्षहरुको बारेमा जानकारी गराउनुका साथै नियमित औंषधी खाने व्यक्तिहरुलाई घरघरमै औंषधी बितरण गरिएको स्वास्थ्य चौकि प्रमुख दर्लामीले जानकारी दिनु भयो । बर्ष भरीमा दुईपटक गरिने यो सेवा अशक्तहरुको लागि धेरै नै प्रभावकारी रहेको सेवाग्राहीले बताएका छन् । स्थानीय तहमा स्वास्थ्य क्षेत्रले गरेको यो काम प्रति सरोकारवालाहरुको सकारात्मक प्रतिक्रिया रहेको छ भने जेष्ठ नागरिक र अपांगता भएकाहरुले आफ्नो स्वास्थ्य सुरक्षित भएको महसुस गर्न पाएका छन्।

पूर्वखोला गाँउपालिकाको सबै वडामा यो कार्यक्रम भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि स्वास्थ्य कार्यालय पाल्पा र स्थानीय तहले सहयोग गरेको छ ।