देवीनगर, पाल्पा । मुकुन्द प्राथमिक विद्यालय पूर्वखोला-४ देवीनगर धापखोला पाल्पामा नवनिर्मित प्रबेशद्धारको उदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नवनिर्मित प्रबेशद्धारको उदघाटन गर्नु हुदै जापानीज नागरीक समाजसेवी काजुमासा काकिमी ओके बाजेले समयमै प्रबेशद्धारा निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले ग्रामिण भेगका यस्तै विद्यालय र विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई सन्तुष्टि मिल्ने उल्लेख गर्नु भयो ।

कुल एक लाख १८ हजार खर्च भएको प्रबेशद्धार निर्माणको लागि काजुमासा काकिमी ओके बाजेले एक लाख रुपैया सहयोग गर्नु भएको शिक्षक नारायाण दर्लामीले जानकारी दिनु भयो । कार्यक्रममा समाजसेवी ओके बाजे र पुर्ण वहादुर गाहालाई विद्यालयले सम्मान समेत गरेका थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम कुमारी ढेंगाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ओके बाजेद्धारा स्थापना गरिएको ५० हजार रुपैयाँ अक्षकोषबाट प्राप्त व्याजबाट विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको विद्यालयका प्रअ लक्कीमाया सिंजालीले बताउनु भयो । कार्यक्रमको सञ्चालन शिक्षक नारायण दर्लामीले गर्नु भएको थियो ।

यस्तै भिमसेन प्राथमिक विद्यालय मुन्टुङ्ग पाल्पाले पनि आफ्नो विद्यालयलाई भौतिक र छात्रवृत्ति सहयोग गर्नु भएका समाजसेवी काजुमासा काकिमी ओके बाजेलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा ओके बाजेद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको विद्यालयका प्रअ राधा सिकेले बताउनु भयो ।

तीन दशकदेखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूह लगायतका धेरै क्षेत्रमा उहाँको ठूलो सहयोग छ ।

उहाँले जापान स्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएस लगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनु भएको छ ।