माथागढी, पाल्पा । माथागढी गाउँपालिकाले नवप्रवर्तन कार्यक्रम व्यवस्थापन अन्तर्गत पाँच दिने आधुनिक तरिकाले दुनाटपरी उत्पादन गर्ने सीप तालिम सम्पन्न गरेको छ ।

गाउँपालिकाको वडा नं. ४ खापुक चौलानीका महिलाहरुलाई लक्षित गरी सञ्चालित तालिमको उदघाटन गर्दै माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले महिलाहरुलाई उद्धमशिल बनाउने र आय आर्जनसंग जोड्ने उद्देश्यले नवप्रवर्तन कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको जानकारी दिनु भयो । उहाँले महिलाहरुले घरायसी कामकाजसंगै स्थानीय स्तरमा उपलब्ध हुने सालको पातको प्रयोग गरि दुनाटपरी उत्पादन गर्न सके आर्थिक आत्मनिर्भरता बढ्ने समेत बताउनुभयो ।

अध्यक्ष चिदीले माथागढी गाउँपालिकाले प्लास्टिकजन्य सामग्रीको प्रयोग निषेध गरेको भन्दै सार्वजनिक कार्यक्रम, विद्यालय, सरकारी कार्यालय, विवाह, भोजभतेर आदीमा स्थानीय स्तरमा उत्पादित दुनाटपरीको प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले महिलाहरुले उत्पादन गरेको दुनाटपरीको विक्रिवितरणका लागि गाउँपालिकाले समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

तालिम उद्घाटन कार्यक्रममा ४ नं. वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले महिलाहरु आत्मनिर्भर हुन सके घर र समाजको आर्थिक उन्नति हुने बताउनुभयो । प्रवक्ता दर्लामीले महिलाहरुलाई सीप विकाससंगै प्रविधि हस्तान्तरणको काममा गाउँपालिकाले महत्वपुर्ण सहयोग गरेको भन्दै सिकेका सीप र प्राप्त प्रविधिको सक्दो सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

यस्तै वडा नं. ४ का सदस्य हुम बहादुर सारुले दुनाटपरी बनाउने तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । सारुले सिकेका सीपलाई व्यवहारमा प्रयोग गरि आयआर्जन गर्न सके व्यक्तिगत तथा सामुहिक रुपमा सबैलाई फाईदा हुने बताउनुभयो ।

गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा नवप्रवर्तन कार्यक्रम व्यवस्थापन अन्तरगत सीप विकास तालिम सञ्चालन गरेको हो । स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै सीप सिकेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।