एवत सारु
पिपलडाँडा, पाल्पा । सिकाई प्रवर्धन परियोजना रम्भा गाउँपालिकाको आयोजनामा आधारभूत तहका शिक्षकहरुको लागि शैक्षणिक सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम शुरु भएको छ ।
रकमादेवी आधारभूत विद्यालय रम्भा ३ पिपलडाँडामा सञ्चालन भएको ५ दिने तालिममा शिक्षकहरुलाई कक्षाकोठालाई आकर्षक र विद्यार्थीलाई रुचिकर शैक्षिक सामाग्री निर्माण गर्न सिकाईने सिकाई प्रवर्धन परियोजनाका तालिम अधिकृत कृष्ण कुवँरले बताउनु भयो । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सिकाई प्रवर्धन परियोजना लागु भएपछि रम्भा गाउँपालकाका शिक्षकहरुको क्षमतामा वृद्धि भएको र शिक्षकको आत्मविश्वास बढेकोले सिकाई उपलब्धीमा समेत सकारात्मक प्रभाव पारेको बताउनु भयो । उहाँले गत वर्षहरुमा तालिम लिन छुटेका शिक्षकहरुले यो तालिमको भरपूर फाईदा उठाउदै सिकेका सिपको कक्षाकोठामा प्रभावकारी रुपमा प्रयोग गर्न जोड दिनु भयो ।

यसै गरि कार्यक्रममा रम्भा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने, शिक्षा शाखा प्रमुख मिनादेवी आचार्य तथा गाउँ शिक्षा समितिका सदस्य धातानन्द बस्यालले तालिममा शिक्षकहरु पूर्णरुपमा सक्रिय भई सिकेर आफ्नो विद्यालयमा तालिमको प्रयोग गर्नु पर्ने बताउनु भयो । रिड नेपालका प्रबन्धक कपिल पूरीले रम्भा गाउँपालिकामा परियोजना संचालन भएपछि कक्षा कोठा शैक्षिक सामाग्रीले आकर्षक बनेको बताउदै सामाग्री सहितको शिक्षणले सिकाई उपलब्धिमूलक भएको बताउनु भयो।

तालिममा रम्भा गाउँपालकाका सामुदायिक विद्यालयका ५२ जना शिक्षकहरुको सहभागीता रहेको छ । तालिममा रिड नेपालका प्रबन्धक कपिल पुरी तथा सिकाई प्रवर्धन परियोजनाका तालिम अधिकृत कृष्ण कुँवरले सहजीकरण गर्नु भएको छ । रम्भा गाउँपालिकामा गएको २ वर्ष देखि रिड नेपालको सहयोगमा सिकाई प्रवर्धन परियोजना लागु भई विद्यालयको शैक्षिक क्रियाकलापमा सहजीकरण गर्दै आएको छ ।
