छहरा, पाल्पा ।
रैनादेवी छहरा गाउँपालिका वडा न ४ मेहलढाप पाल्पामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेहलढाप स्थित महाकाली माध्यमिक विद्यालयको परिसरमा सञ्चालन भएको शिविरमा स्वास्थ्य जाँच, औषधि, स्वास्थ्य सचेतना र विशेषज्ञ परामर्शहरू निःशुल्क रुपमा उपलब्ध गराइएको थियो । उक्त शिविरमा ४ सय ६ जना व्यक्तिहरूले स्वास्थ्य सेवा प्राप्त गरेको आयोजकले जनाएको छ । कार्यक्रममा २० जनालाई न्यानो कपडा (स्वीटर) समेत वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले स्वास्थ्य नै धन भएको उल्लेख गर्दै स्वस्थ समाज नै प्रगतिशील समाजको आधार रहेको बताउनुभयो । यही उद्देश्यलाई आत्मसात गर्दै पालिकावासीहरूको स्वास्थ्य अवस्थालाई सुधार गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरको आयोजना गरेको समेत उल्लेख गर्नु भयो । गाउँपालिकाको यो प्रयासले पालिकाको वडा न ४ वासीहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

युवा सूचना केन्द्र नेपाल सिद्धार्थनगरको व्यवस्थापन तथा संजीवनको सहयोगमा सञ्चालित शिविरको उद्घाटन कार्यक्रम रैनादेबी छहरा वडा नं. ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो । लुम्बिनी मेडिकल कलेज तथा रैनादेवी छहरा गाउँपालिकाका चिकित्सक, नर्स र स्वयंसेवकहरू, स्थानीय पदाधिकारीहरु तथा स्थानीय समुदायका अभियान्ताहरूको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्राभास पाल्पाको प्राविधिक सहयोग रहेको थियो ।