बुटवल । गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमितीलाई निवर्तमान कार्यसमितीले पदस्थापन गरेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित पदस्थापन समारोहमा संघको निर्वाचन समितीले नव निर्वाचित कार्यसमितीलाई निर्वाचित भएको प्रमाणपत्र बितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो। पदस्थापन समरोहमा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले निर्वाचनका समयमा भएका सबै तिता अनुभवहरु बिर्सेर नयां ढंगले अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो।

पाण्डेले महासंघको प्रतिष्ठा र गरिमा बढाउन सबैको साथ जरुरी रहेको बताउदै महासंघमा लिंग, जात धर्म र संगठनका आधारमा भेदभाव भएको कसैले पनि महशुस गर्न नपाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामराज पोखरेलले आफ्नो कार्यकालमा सहकार्य र सहयोग भएकोमा पत्रकार सम्वद्ध संघ संस्थाहरुलाई आभार ब्यक्त गर्नु भयो।

यसैवीच पदस्थापनसँगै बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संघका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ पत्रकार भरत केसी, खिमानन्द भट्टराई र हरिष ढकाललाई मनोनित गरेको छ । यस्तै विधानमा व्यवस्था भएअनुसार निर्वतमान अध्यक्ष रामराज पोखरेल, पूर्व अध्यक्ष यानेन्द्र जिसी र विनोद परियार सल्लाहकार हुनु भएको छ । बैठकले संघको आगामी कार्ययोजना तयार गर्नका लागि सचिव सिपी खनालको सांयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।