धनबहादुर ठाडा
निस्दी, पाल्पा । भौगोलिक विकटता र सेवा लिन टाढाबाट आउनु पर्ने समस्या भएका जनतालाई लक्षित गरी गएको पुस ६ गते देखि निस्दी गाउँपालिका पाल्पाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

सिहदरवारको अधिकार घरदैलो पुगेको नागरिकलाई महसुस गराउन गाउँपालिकाले वडामै पुगेर सेवा दिन शिविर आयोजना गरिएको अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएको अध्यक्ष सारुले बताउनु भयो । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै गाउँपालिकाले वडामै सेवा दिएको र आफूहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी भएका हुन् । यसपटकको शिविरमा पालिकाले कृषि उपज सामग्री र शैक्षिक सामग्री प्रदर्शनलाई पनि प्राथमिकतामा राखेकोले कृषकहरु उत्साहित बनेका हुन ।

करिब ४ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएका गल्धाका सुर्य बहादुर खाम्चा आफू वडाभरिकै उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुँदा साह्रै खुसी भएको बताउनुभयो । “म सँग अन्य थुप्रै तरकारी पनि थियो तर लोकल साग त अन्य कृषकहरुले पक्कै ल्याउनुहुन्न होला भनेर लिएर गएँ, प्रथम पो भएछु” खाम्चाको भनाइ छ । पुरस्कार पाउनु ठुलो कुरा होइन, सबैको अगाडि सम्मान हुन पाउँदा काम गर्ने थप जाँगर आएको उहाँले बताउनु भयो । खाम्चाले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा बहत्तरी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ । शिविरमा अरु एक सय ९४ जना कृषकहरुले कृषि उपज सामग्री पर्दर्शनको लागि ल्याएका थिए । खाम्चा जस्तै अन्य कृषकहरुलाई पनि पालिकाले सम्मान गरेको छ ।

पालिकाको सातै वडामा सञ्चालन भएको शिविरमा ७२ वटा योजनाको सम्झौता भएको, १३ वटा योजनाको पेश्की भुक्तानी, २३ वटा व्यवसायको दर्ता, ३८ वटा व्यवसायको नवीकरण भएको योजना अधिकृत तथा सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो । शिविरमा ८४ जना कृषकले माटो परीक्षण गराएका जानकारी दिदै ८० वर्ष माथिका २ सय २७ जना जेष्ठनागरिकलाई सम्मान, १६ जना असहाय महिलालाई राहत वितरण र ६ जनालाई अपांग परिचयपत्र वितरण गरेको खनालले बताउनु भयो ।

शिविरमा पाँच सय ५१ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, ६ सय ७८ जनाको दन्त परीक्षण, २ सय ५ जनालाई आयुर्वेद औषधि वितरण गरिएको छ । त्यसैगरी ४६ जना गरिब तथा असहायलाई सुरक्षा सामग्री वितरण गरिनुका साथै २९ हजार ५ सय ५६ वटा पशुपंक्षीको लागि औषधि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनु भयो । उहाँले यसपटकको शिविरमा पालिकाको ५१ वटा विद्यालयले ६ सय ७९ किसिमका शैक्षिक सामग्री प्रर्दशन गरेको पनि बताउनु भयो ।