पाल्पा । करिब ६ दशक पहिला बनेको पुल जीर्ण भएपछि कालीगण्डकीको राम्दीमा नयाँ पक्की पुल निर्माणकार्य तिव्र रुपले अघि बढेको छ । तीन वर्षअघिदेखि सुरु भएको पुलको आगामी २०८२ असार मसान्तभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिइएको हो ।
गण्डकी प्रदेशको स्याङ्जा जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा जिल्ला जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत रामनदी धाम राम्दीमा पुरानो पुल नजिकै नयाँ पक्की पुल निर्माणकार्यले तिव्र रुप लिएको हो । वि.सं. २०२८ मा गण्डकी र लुम्बिनी प्रदेश जोड्ने मुख्य मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग निर्माण भएका बेला ‘स्टिल ट्रस’ हुँदै स्याङ्जा र पाल्पा जिल्लाको सङ्गमस्थल राम्दीमा पुल निर्माण गरिएको थियो । जीर्ण रहेको सो पुलमा पछिल्लो अढाई वर्षदेखि हिम सगरमाथा कन्ट्रक्सन कम्पनीले राम्दीमा पुल निर्माणको काम गरिरहेको छ । वि.स. २०७९ असार ३० गते २७ करोड ७१ लाख नौँ हजार रुपियाँमा पुल निर्माण गर्न सम्झौता भएको थियो । सोही सम्झौँता अनुसार अगामी २०८२ असार २९ गतेभित्र पुल निर्माणको काम सक्ने योजना रहेको निर्माण व्यवसायीका प्रतिनिधि सन्तोष गुरुङ्ले जानकारी दिनुभयो ।

हालसम्म पुल निर्माणको ६० प्रतिशत काम सकिएको पुल सेक्टर पोखराका प्रमुख ज्ञानेन्द्र कलौनीले जानकारी दिनुभयो । ‘पुल निर्माणको मुख्य काम भइरहेको बताउदै उहाँले यही गतिले काम भएमा समयसीमा अगावै निर्माणको काम सकिने जानकारी दिनु भयो ।
हालसम्म पुल निर्माणको मुख्य काम जग निर्माण गर्ने र वाल निर्माणको काम सकिएको छ भने फिटिङ्को काम पनि सकिएर वेल्डिङ्को काम भइरहेको छ । पुरानो पुल जीर्ण भएकाले नयाँ पुल छिट्टै सिध्याउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीले हालसम्म १४ करोड रुपियाँ भुक्तानी पाइसकेको छ । नयाँ बनिरहेको मोटरेबल पुलका लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको रहेको आयोजनाले जनाएको छ ।

पुरानो ट्रस पुलभन्दा नयाँ बनिरहेको पुल १५ मिटर लामो हुनेछ । सुरुमा पुल निर्माणमा ढिलाइ भएपनि पछिल्लो एक वर्षयता निर्माणले गति लिएको स्थानीय बासिन्दा गुनबहादुर दर्लामीले बताउनुभयो । पुल बनेपछि कालीगण्डकी नदी सुरक्षित रुपमा वारपार गर्न सहज हुने उहाँले बताउनुभयो । ४० वर्षअघि बनेको ट्रस पुल जीर्ण हुँदा केही वर्षयता १५ टन क्षमताभन्दा बढी भार क्षमताका सवारीसाधन गुडाउन रोक लगाइएको छ ।